कचनकबलको सर्पदंश उपचार केन्द्रले पायो अनुमति

फाइल तस्वीर
फाइल तस्वीर

स्वास्थ्य मन्त्रालयले झापाको दक्षिणी भेगमा पर्ने कचनकबल गाउँपालिकामा सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि अनुमति प्रदान गरेको छ।

विषालु सर्पको डसाइबाट बर्सेनि धेरै घाइते हुने र अस्पताल टाढा हुँदा उपचार नपाएर मृत्युवरण गर्नुपर्ने अवस्था थियो। दक्षिण झापाका बासिन्दाले विगत लामो समयदेखि स्थानीय क्षेत्रमै सर्पदंश उपचार केन्द्रको माग गर्दै आएका थिए।

स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण माहाशाखाले कचनकबलको बनियानीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा सर्पदंश उपचार केन्द्र सञ्चालनको अनुमति दिएको गाउँपालिकाका अध्यक्ष अन्जार आलमले जानकारी दिए।

महाशाखाले चार वर्षका लागि अनुमति प्रमाणपत्र जारी गरेको छ। स्वास्थ्य विभागले स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरलाई परिपत्र गरी कचनकबलको सर्पदंश उपचार केन्द्रलाई आवश्यकताअनुसार ‘एन्टी स्नेक भेनम’ उपलब्ध गराउन निर्देशन दिएको सो क्षेत्रका प्रदेशसभा सदस्य वसन्त बानियाँले बताए।

स्वास्थ्य मन्त्रालयले प्रदेश नं १ कै मोरङको केराबारी गाउँपालिकाको कालापानी सर्पदंश उपचार केन्द्र र प्रदेश नं २ सप्तरीको कञ्चनरुप नगरपालिकाको प्राथमिक स्वास्थ्य केन्द्रलाई समेत सर्पदंश उपचारको अनुमति प्रदान गरेको छ।

झापा मुलुककै सर्पदंशका बढी घटना हुने जिल्ला हो। हाल झापाको चारआली र दमकमा सर्पदंश उपचार केन्द्र सञ्चालनमा छन्।कचनकबलको बनियानीमा सर्पदंश उपचार केन्द्र सञ्चालनमा आउने भएपछि स्थानीयवासीमा खुशियाली छाएको छ।

सामाजिक सञ्जालमा सर्वसाधारणदेखि राजनीतिक दलका नेता र जनप्रतिधिहरुले यसलाई स्वास्थ्य क्षेत्रमा ठूलो उपलब्धिका रूपमा चर्चा गरिरहेका छन्।

“कचनकबलबासीको लामो समयदेखिको चाहनाकारूपमा रहेको सर्पदंश उपचार केन्द्र सञ्चालन स्वीकृति प्राप्त भएको समाचारले असाध्य खुशी तुल्याएको छ”, झापा क्षेत्र न. ३ का निवर्तमान संघीय सांसद राजेन्द्र लिङ्देनले सामाजिक सञ्जालमा लेखेका छन्, “यसका लागि प्रयत्न गर्ने सबैलाई धन्यवाद।”

आगामी असार ३ गते लिङ्देनले केन्द्रको विधिवत् उद्घाटन गर्नुहुने र सोही दिनबाट उपचार शुरु गरिने गाउँपालिका अध्यक्ष आलमले बताए। चालु आर्थिक वर्षमा गाउँपालिकाले सर्पदंश उपचारका लागि रु सात लाख बजेटको व्यवस्था गरेको थियो।

सर्पदंश उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्रकै दुई जना स्वास्थ्यकर्मीलाई विशेष तालिम प्रदान गरिएको र एक जना एमबीबीएस तहका चिकित्सकसमेत नियमित उपलब्ध हुने उनले जानकारी दिए। हाल प्राथमिक स्वास्थ्य केन्द्रमा विरामीका लागि अक्सिजनको सुविधा छ। अध्यक्ष आलमले भेन्टिलेटरको अभाव रहेको बताए।रासस

प्रकाशित मिति: : 2021-06-13 11:33:00

प्रतिकृया दिनुहोस्