लक्ष्मीपुर पतारी गाउँपालिका प्रमुख साहको गुनासो– वडाध्यक्ष हनुमान मण्डलले लूट मच्याए (भिडियाे)

अख्तियारले छानबिन गर्न चासो दिएन

सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका प्रमुख रामवल्लभ साहले गाउँपालिकाको बजेटमा वडा नं. ३ का वडाध्यक्ष हनुमान मण्डलले लुट मच्याएको आरोप लगाउँदै यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्न चासो नदेखाएकोमा दुखेसो गरेका छन्।

गाउँपालिका प्रमुखले बिएल नेपाली सेवासँग कुरा गर्दै वडाध्यक्ष मण्डलले कार्यापालिकामा बहुमत पुर्‍याएर विभिन्न योजना र विकासनिर्माणको आफूखुशी उपभोक्ता समिति बनाई अनियमितता गर्दै आएको लगाएका छन्। उनले भने, 'लुट मच्याउने हनुमान मण्डल अनि नाम बद्नाम चाहिँ मेरो भइरहेको छ।'

गाउँपालिकामा भएको अनियमितताको छानबिन गर्न पटक–पटक अनुरोध गर्दासमेत अख्तियारले चासो नदिएको प्रमुख शाहको भनाइ छ।

लूटको श्रृङ्खला

सिरहाको लक्ष्मिपुर पतारी गाउँपालिकाले पौराणिक पतारी पोखरी जिर्णोद्वार तथा राजा हरिसिहं देव मन्दिर निर्माणका लागि विनियोजन गरेको १ करोड ५० लाख रुपैयाँबाट रकमान्तर गरी अनियमितताको श्रृङ्खला सुरु भएको देखिन्छ। 

पतारी पोखरी र राजा हरिसिहंदेव मन्दिर निर्माण र जिर्णोदरका नाममा यस गाउँपालिकाले प्रत्येक आर्थिक वर्ष करोड बढी रकम विनियोजन गर्दै आए पनि अहिलेसम्म पोखरीवरिपरि ढलान गर्ने कार्य मात्रै भएको छ।

तर स्थानीयबासीह‍रु गाउँपालिका प्रमुख शाह, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रविन्द्रकुमार महत, वडा नं. ३ का अध्यक्ष हनुमान मण्डल र उक्त पोखरी जिर्णोद्धार उपभोक्ता समितिमा बसेका वडाध्यक्षका भाइ अनरुद्धकुमार मण्डलको मिलोमतोमा अनियमितता भएको दाबी गर्छन्। गाउँपालिकामा कृत्रिम उपभोक्ता समिति खडा गरेर करोडौँ रुपैयाँ अनियमितता भएको पनि पाइएको छ।

सडक निर्माण, सडक मर्मत, जिर्णोद्धार, ढल निर्माण, सडक ग्राभेल, पुल निर्माण, खानेपानी, उर्जा जडान, सरसफाइ लगायत विभिन्न कार्य गर्न भन्दै कृत्रिम रुपमा खडा गरिएको उपभोक्ता समितिमार्फत पटक–पटक एक लाखदेखि २९ लाख रुपैयाँसम्म निकासा गरिएको देखिन्छ। त्यस्तै वडा–सचिवहरूले पनि यस गाउँपालिकाका वडाध्यक्षहरू र सचिवहरूबीच आफ्नै नाममा बजेट निकासा गर्ने होडबाजी नै चल्ने गरेको पनि खुल्न आएको छ।

लक्ष्मीपुर पतारी गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष हनुमान मण्डलले आफ्नै वडा कार्यालयसँग आफैले सम्झौता गरेर आफ्नै नाममा एक लाख ५० हजार रुपैयाँ निकासा लिएको पाइएको छ। 

अनियमितता गर्दै, पक्की घर ठड्याउँदै

सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाको विकास–निर्माणका लागि गठन हुने उपभोक्ता समितिमा बसेर गरेको अनियमितताले पतारी बजारमा घर ठड्याउने होडबाजी नै चलेको छ। ती पक्की घरहरूमा अहिले तला थप्ने प्रतिस्पर्धा पनि चल्दै आएको छ।

धेरै उपभोक्ता समितिमा बसेका राजेशकुमार साह र पप्पु साहले पतारीबजारमा पक्की घर ठड्याएका हुन्। पतारीबजारस्थित राजा हरिसिहंदेवको मन्दिरको पूर्वीदिशामा राजेशको घर छ। एकतले उनको घरमा अहिले तल्ला थप्ने र बिस्तार गर्ने काम भइरहेको छ। 

राजेशले उक्त घरमा किरानाको होलसेल पसल खोलेका छन्। राजेशको घरभन्दा करिब ३० मिटर पश्चिम–दक्षिणमा रहेको पप्पुको दुईतले घरमा भने एनसीसी बैंक छ।

गाउँपालिकाको विकास बजेटमा व्यापक अनियमितता गरेको आरोप लागेका लक्ष्मीपुर पतारी गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष हनुमान मण्डलले पनि पतारी बजारभन्दा एक सय मीटर दक्षिणमा हालै दुईतले पक्की घर बनाएको भेटिएको छ भने वडाध्यक्ष मण्डलका भाई अनिरुद्धले पनि अहिले धमाधम पक्की घर बनाइरहेका छन्। 

विभिन्न उपभोक्ता समितिहरुमा मधेशी दलितहरुलाई डमी खडा गरेर सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा लाखौँ रुपैयाँ अनियमितता भएको पनि पाइएको छ। 

सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा मौलाएको बेथितिको विरोधमा स्थानीयहरु पटकपटक आन्दोलन मात्रै गरिरहेका छैनन्, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत सम्बन्धित निकायमा उजुरी पनि दिदै आएका छन् तर यहाँ मौलाइरहेको बेथितिको खोजीनीति र छानबिन गर्न कसैले पनि चासो दिएका छैनन्।

तर मौलाएको व्यापक अनियमिततामा आफ्नो सहभागिता भएको स्विकार गर्दैनन्– गाउँपालिका प्रमुख रामवल्लभ साह। बिएल नेपाली सेवामा गाउँपालिकाको बेथितिबारे नियमित समाचारहरु आउन थालेपछि सम्पर्कमा आएका उनले वडाध्यक्षहरुको कामगराइको जनताबाट गुनासो आएको भने स्विकार गरे।

'वडाध्यक्षहरुले मनोमानी गरेको म स्वीकार गर्छु,' प्रमुख शाहले भने, 'तर यस विषयमा अख्तियारले छानबिन गर्नुपर्नेमा किन गरिरहेको छैन, मलाई अचम्म लाग्छ।' उनले आफू निर्दोष रहेको जिकीर पनि गरे।
यस विषयमा प्रतिकृया लिन खोज्दा वडाध्यक्ष हनुमान मण्डल सम्पर्कमा आउन चाहेनन्।

करिब २० वर्षसम्म एमालेको राजनीति गरेका उनी पछिल्लो स्थानीय चुनावअघि समय उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरममा लागेर गाउँपालिका प्रमुख बनेका थिए ।


मधेशी दलित उभ्याएर लाखौँ अनियमितता

कृत्रिम उपभोक्ता समिति खडा गरेर करोडौँ अनियमितता

वडाध्यक्ष हनुमान मण्डलका दाजुभाइले पनि ठड्याए पक्कि घर

अनियमितता गर्दै, घर ठडयाउँदै, अख्तियार मौन

सचिवबीच आफ्नै नाममा बजेट निकासा गर्ने होडबाजी

राजा हरिसिहं देवले खनेको पोखरीको नाममा ब्रम्हलूट 

लक्ष्मीपुर पतारीका स्थानीय भन्छन्ः अनियमितताको समाचार लेख्न पत्रकारहरू पन्छिन्छन्

तराईमा बढ्दो भ्रष्टाचार: गणतान्त्रिक नेपालका नवसामन्तवाद

गाउँपालिका प्रमुख रामबल्लभ साहको अर्को अनियमितताको पोल खुल्यो

गाउँपालिका प्रमुख रामबल्लभ साहको अनियमितताको अर्को पोल

प्रकाशित मिति: : 2021-06-13 22:03:00

प्रतिकृया दिनुहोस्