कोरोना महामारी र जातीय असमानताको बारेमा रिपोर्टिङ्ग गर्ने विभिन्न मिडिया र पत्रकार पुरष्कृत

बिएल संवाददाता

वासिङ्टन डीसी

कोरोना महामारी र अमेरिकी प्रहरी भित्रको जातीय असमानताको बारेमा गरिएको रिपोर्टिङ्गको लागि समाचार एजेन्सी 'रोयटर्स', 'न्यु योर्क टाइम्स', 'द अत्लाण्टिक' र 'द मिनियापोलिस स्टार ट्रिब्यून'लाई शुक्रबार पुलिट्जर पुरस्कार प्रदान गरिएको छ।

अमेरिकामा पछिल्लो वर्ष प्रहरीबाट मारिएका अश्वेत जर्ज फ़्ल्येडको बारेमा गरेको कभरेजको लागि 'द मिनियापोलिस स्टार ट्रिब्यून'लाई यो पुरस्कार प्रदान गरिएको हो। यसको साथै 'रोयटर्स' र 'द अत्लाण्टिक'लाई भने एक्सप्लेनेटरी (व्याख्यात्मक) रिपोर्टिङ्गको लागि सयुंक्त रुपमा यो पुरस्कार प्रदान गरिएको हो।

यसैगरी फ़्ल्येडको हत्या र त्यसपछि भएका बिरोध प्रदर्शनहरुको तस्बिरहरु मध्य एसोसिएट प्रेस (एपी)का फोटो पत्रकारहरुलाई ब्रेकिङ्ग न्युज क्याटोगरीमा सयुंक्त रुपमा पुरस्कार प्रदान गरिएको छ।

यसको साथै एपीको स्पेनमा कार्यरत मुख्य फोटो पत्रकार एमीलियो मोरेनत्तीलाई फिचर क्याटोगरीमा प्रदान गरिएको छ। यस्तै लस एञ्जलस टाइम्सका पत्रकार रोबर्ट ग्रिनीले जेलको बिषयमा लेखेको सम्पादकीयको लागि यो पुरस्कार जितेका छन्।

यस्तै कोरोना महामारीको बारेमा प्रस्तुत समाचार र विचारको लागी 'द न्यु योर्क टाइम्स'लाई पब्लिक सर्विस जर्नलिज्म पुरस्कार क्याटोगरीमा प्रदान गरिएको छ भने फ़्ल्येडलाई प्रहरीले आफ्नो खुट्टाले घाँटी थिचिरहेको भिडियो खिच्ने १५ वर्षिय किशोर डार्नेला फ्रैजियरलाई विशेष सम्मान पत्र प्रदान गरिएको छ।

उनले यो भिडियो आफ्नो मोबाइल फोनबाट खिचेका थिए। यस्तै लुईस एर्डरिचलाई उनको उपन्यास  'द नाइट वाचम्यान' लाई पनि पुस्कार प्रदान गरियो र मैल्कम एक्सको जीवनी 'द डेड आर अराइजिङ्ग' लाई पनि विशेष पुरस्कार प्रदान गरिएको छ।

अमेरिकी पत्रकारिताको सर्वाधिक प्रतिष्ठित यो पुरस्कार प्रकाशक जोसेफ पुलिट्जरले स्थापना गरेको आफ्नो नामको गुठी (ट्रस्ट) द्वारा प्रदान गरिन्छ। यो पुरस्कार सन् १९१७ देखि प्रदान गरिदै आएको छ।

प्रकाशित मिति: : 2021-06-12 06:43:00

प्रतिकृया दिनुहोस्