सबिना श्रेष्ठ
स्कुल पढ्दादेखि नै सुनिरा रेग्मीले ठानिसकेकी थिइन्, 'भविष्यमा जे बन्छु, त्यो गणित विषयसँग जोडिएको हुनेछ।'
गणितका अंक र सूत्र मनपरे पनि के बन्ने भनेर सिधा रेखा कोर्न सकिरहेकी थिइनन्। कसैले ठूलो भएर के बन्छौ भनेर सोधे रेडिमेड जवाफ भने थियो- 'पाइलट बन्ने।'
उनलाई उचाइसँग डर लाग्थेन। आफ्नो सपनालाई माथि माथि उड्न दिइरहिन्। तर भविष्यमा जीव विज्ञान पढ्न नपरोस् भन्ने डर चाहिँ भइरहन्थ्यो।
हात्तीवनको लिटल एन्जल्सबाट एसएलसी सकेपछि उनी त्यस्तो विषय पढ्न चाहन्थिन्, जसमा आफूलाई रूचि होस्।
सुनिरा अलमल परेकी थिइन्। बुवा सुदर्शन रेग्मीले सुल्झाइदिए, 'भारतमा त्यस्तो कलेज छ जहाँ तिमीले गणित, रसायनशास्त्र र भौतिकशास्त्र मात्र पढ्नुपर्छ। त्यहाँ पढेपछि भविष्यमा तिमी पाइलट बने भइहाल्यो। अझ एरोस्पेस इञ्जिनियर बन्यौ भने झन् उच्च दर्जा हो।'
बुवाका कुरा सुनेपछि सुनिरा चकित खाइन्। भारतको विवेकानन्द कलेजमा कक्षा १२ पढ्न थाल्दासम्म दिमागमा एरोस्पेस इञ्जिनियर बन्ने भूत सवार भइसकेको थियो। बुवाको त्यही मार्गदर्शनले सुनिरा पहिलो नेपाली महिला एरोस्पेस इञ्जिनियर बन्न सफल भएकी हुन्। नेपाल इञ्जिनियरिङ काउन्सिलबाट सन् २००८ मा इजाजतपत्र लिँदा उनी पहिलो महिला थिइन्।