म्यान्मारमा विरोध प्रदर्शनमा उत्रिएका थप ६३८ जनालाई पक्राउ गरिएको छ।
आतंकवादी सम्बन्धी ऐन अनुसार उनीहरुलाई पक्राउ गरिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन्।
पक्राउ परेका मध्ये ४९ जनालाई आगजनी र ६१ जनालाई हत्या सम्बन्धी अभियोग लगाइएको छ। २५६ जनालाई सुरक्षा व्यवस्थामा खलल पुर्याएको तथा विस्फोटन गराएको र २७२ जनालाई आतंकवादी क्रियाकलाप गरेको अभियोग लगाइएको छ।
सुरक्षाकर्मीहरुले साना बन्दुक, बम तथा विस्फोटक पदार्थ, घरेलु बन्दुक, घरेलु हतियारलगायत विभिन्न हतियार तथा विस्फोटक पदार्थहरु पनि बरामद गरेको सुरक्षा निकायले जनाएको छ।
म्यान्मारमा गत फेब्रअरी १ देखि संकटकाल लागु गरिएको छ। त्यसकाे विराेधमा नागरिक आन्दोलन जारी छ।
म्यान्मारको सेनाले लोकतन्त्रवादी नेतृ आङसाङ सूकीसहित सरकारको नेतृत्वमा रहेका तथा दलको नेतृत्व गरेका विभिन्न नेताहरुलाई नियन्त्रमा लिएर सत्ता हातमा लिएको छ।
सेनाले सत्ता लिएको र लोकतन्त्र मासेको भन्दै भइरहेको आन्दोलनका क्रममा अहिलेसम्म सयौँको मृत्यु भइसकेको छ।