केही बर्षअघि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले अमेरिकाबाट फर्केपछि अमेरिका बस्ने सबै नेपालीहरु भाँडा माझ्ने हुन् भनेका थिए। उनको त्यो ‘भाँडा माझ्ने’ उपमा तल्लोस्तरको काम भन्ने हो भन्ने पंक्तिकारको बुझाई छ।
अमेरिकामा बस्ने उनका छोरीज्वाईं के कस्तो काम गर्छन्? त्यो मेरो जानकारीमा भएन। तर, कुनै चमत्कारिक काम गरेर बस्लान् जस्तो लाग्दैन मलाई। तनहुँ जिल्लाको एउटा निर्धन परिवारमा जन्मेहुर्केका पौडेलले आजसम्म प्रधानमन्त्री हुने निर्वाचनमा लगातार १७ पटक पराजित हुनु र स्वर्गीय गोल्छे सार्कीको थप्पड खानुबाहेक कुनै उल्लेखनीय कार्य गरेको मलाई थाहा छैन।
स्थानीय प्रशासनले रोक लगाउँदा अटेर गरेर प्रचलित कानूनको बर्खिलाप गर्दा प्रहरीको कुटाई खाएपछि बिचलित भएका कार्यकर्तालाई यो कुरा अपच होला। तर, पौडेलको टाट पल्टिएको मानसिकतामा कुनै स्वतन्त्र व्यक्ति सहमत हुन सक्दैन।
विदेशमा बस्नेलाई ‘फलानोले के गर्छ, भाडा माझ्ने त हो’ भन्ने एउटा चर्चित भनाई छ नेपालभित्र। यद्वपि यो भनाईमा आफू अनेक प्रयास गर्दा पनि विदेश जान नसक्नु, विदेश बस्नेले गरेको कुराकानी सुनेर डाँहा गर्नु जस्ता कुराले पनि प्रमुख भूमिका खेलेको हुन्छ। कामको बारेमा पनि हाम्रो दुई प्रकारको विचार छ। आफूले गर्यो भने ‘काम भनेको सानो ठूलो हुँदैन’ भन्ने र अर्कोले गर्ने कामलाई ‘भाडा माझ्ने काम’ भन्ने चलन छ।
यहाँ ‘भाडा माझ्ने’ भन्नुको अर्थ निकृष्ट काम भन्न खोजिएको होला। काम सानो ठूलो हुँदैन भन्ने कुरामा पंक्तिकार सहमत छैन। काम सानो ठूलो हुन्छ र त्यसैले पद, जिम्मेवारी, पारिश्रमिक जस्ता कुराले ‘हाइर्यार्की’ छुट्टिएको हुन्छ। अब कसैले मेरो योग्यता र क्षमताले पाउने कार्य यही हो र म मेरो कामको पुजा गर्छु भन्छ भने म त्यो मान्छेलाई सलाम गर्छु।
अमेरिकामा संघर्षको दिनमा पंक्तिकार एउटा क्लिनिकमा सफाई कर्मचारीको हैसियतमा काम गर्थ्यो। बिभागको नाम ‘इन्भरोमेण्टल सर्भिस’ र पदको नाम ‘हाउस किपर’ भए पनि काम भनेको भुइँ पुछ्ने, चर्पी सफा गर्ने, कुच्चो लगाउने आदि हो।
अब कसैले यस्तो नामको काम भनेको वातावरणसम्बन्धि हो भन्छ भने त्यो उसको विचार हो। पंक्तिकारलाई एउटा मान्छेले यस्तै भनेको पनि छ। उसको जवाफमा पंक्तिकारले मैले पनि यो काम गरिसकेको हो र यो यस्तो काम हो भनेर भन्दा त्यो ब्यक्ति चुप लागेको थियो।
घण्टाको २६ डलर पाउने त्यस्तो काम पायो भने जो कोही पनि तयार छन् र त्यस्तो कामको लागि नेपालबाट पनि आउन तयार छन्, इमान्दारीपूर्वक स्वीकार गर्ने हो भने। आजको समयमा अमेरिकामा घण्टाको २६ डलर पाउनु भनेको निकै राम्रो कमाई हो। जहाँसम्म भाडा माझ्ने कामको कुरा छ, त्यो काम अर्थात् ‘डिस वासर’ को तलब उच्च नै हुन्छ।
नेपालमा जस्तो खरानी वा माटोको सहयोगमा परालको मस्कोले मस्काउन पर्ने होइन। तातो वा चिसो पानीले साबुनको सहयोग मा मज्जाले धुन सकिन्छ।
अमेरिका आउने हरेक नेपालीको जीवनस्तर उसको नेपालमा हुँदाको भन्दा उच्च छ। यदी त्यस्तो जीवनस्तर उसले भाडा माझेर नै प्राप्त गरेको छ भने पनि त्यो कुनै अनुचित जस्तो लाग्दैन। एकछिनको लागि लौ यहाँ बस्ने सबैले भाडा माझ्ने काम मात्र गर्छन भने पनि उनीहरु आफ्नो योग्यताले भेटेको काम गरेर खाएका छन्।
सानै रुपमा भए पनि नेपालको अर्थतन्त्रलाई सहयोग गरेका छन्। अमेरिका बस्ने प्रत्येक नेपालीले हरेक महिना कमसेकम पाँच सय डलर मात्र नेपाल पठाएको छ भनेपनि त्यो रकम करोडौंमा आउँछ। यत्रो योगदान गर्ने व्यक्तिहरुलाई इज्जत गर्नुको सट्टा होच्च्याएर बोल्नु इमान्दारिता हो वा होइन, त्यो छुट्टाउने जिम्मा प्रबुद्ध पाठकवर्गलाई दिन चाहन्छु।
हामी यो बिरानो देशमा बसेर रगत पसिना एक गरेर दुई पैसा कमाउने र त्यसमा पनि एक पैसा नेपाल पठाउनेलाई अपमान गर्नु भनेको आत्मद्रोह हो। अरुको जिम्मेवारी लिन सकिन्न।
मैले आफ्नो हकमा भन्ने हो भने स्वीकार गरे, म भाडा नै माझ्छु। भाडा माझ्नु कुनै अपराध वा गैरकानूनी कार्य हुँदै होइन। तर अच्चम लाग्दो कुरा, पौडेलजीले देशको लागि के गरे?