वाइसिएल मिक्लाजुङले थाल्यो महामारीमा सचेतना

दोस्रो चरणको कोरोना भाइरस कोभिड–१९ का कारण गाउँवासी आक्रान्त बन्न थालेपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि पुर्वोत्तर मोरङको मिक्लाजुङमा माओवादी केन्द्रनिकट योङ कम्युनिष्ट लिग (वाइसिएल)ले आफ्ना विभिन्न पहलकदमी थालेको छ।

संक्रमितहरुको खोजी गर्दै उनीहरुको घरमा सेनिटाइज गर्दै मास्कलगायतका सामग्री प्रदान गरिएपछि स्थानीयवासीमा पनि आडभरोसा मिलेको पाइएको छ। भाइरस प्रतिरोधि सुरक्षा सचेतना अपनाउदै वाइसीएलले गाउँ तथा घरमा अभियान थालेपछि नागरिकहरु खुशी हुन थालेको मिक्लाजुङ–३ का कुमार मगरले बताए। उनले भने, ‘गाउँमा वाइसीएल साथीहरु औषधि लिएर आउन थालेका छन्, अब त कोरोना लागेपनि बचिन्छ होला भन्ने आशा जगाएको छ।’

मिक्लाजुङको टाँडीमा कोरोना संक्रमितको सङ्ख्या दिनप्रतिदिन बढ्दै जान थालेपछि वाइसीएलले स्थानीयवासीका घरघरमा गएर संक्रमितको खोजी गर्ने अभियान थालेको हो। यहाँका स्थानीय तहमा रहेका स्वास्थ्यकर्मीहरुसंग समन्वय गरी बिरामीहरुको एन्टिजेन परीक्षण गर्न व्यवस्था मिलाइएको वाइसीएल मोरङका सदस्य मदन पौडेलले जानकारी दिए।

पौडेलका अनुसार संक्रमणका समयमा अपनाउने सचेतनाका बारेमा प्रशिक्षण समेत दिने गरिएको छ। संक्रमण फैलिन नदिन पहिलो चरणमा साविकको टाँडी गाविसका संक्रमितहरुका घरलाई नै सेनिटाइजेशन गर्न थालिएको छ। यसको लागि वाइसिएलले आवश्यक पर्ने मेशिन खरिद गरेर ल्याएको छ।

संक्रमित भेटिएको कारणले गाउँवासीहरुमा एकप्रकारको त्रास फैलिएको कारण सबैलाई ढुक्क बनाउन र संक्रमण फैलन नदिनलाई सेनिटाइज गरेको वाइसिएल मोरङका खेलकुद विभाग प्रमुख पर्वत कार्कीले बताए।

पछिल्लो समय कोरोना संक्रमितको संख्या वढ्न थालेपछि ती संक्रमितहरु समेत बाहिर निस्केर हिड्दा झनै जोखिम वढेको हुँदा उनीहरुलाई घरमै गएर परामर्श दिन र स्वास्थ्य सामाग्री वितरण थालिएको हो। घरमै आएर मनोवल बढाई औषधी दिन थालेपछि कोरोना संक्रमितहरु पनि आफूलाई खुशी लागेको र मनोवल उच्च भएको बताउछन्।

वाइसिएल मिक्लाजुङ कमिटीको आयोजनामा खटिएको टोलीमा सो संगठनका मोरङ जिल्ला सदस्यहरु मदन पौडेल, भानु चाम्लिङ, पर्वत कार्की, सुवास खड्का र बिनोद दर्नालले कोरोना संक्रमितहरुलाई परामर्श दिँदै आवश्यक स्वास्थ्य सामग्री प्रदान गर्दै आएका छन्।

यो अभियानले समुदायमा सकरात्मक सन्देश जाने र कोरोना संक्रमितहरुको पनि मनोवल उच्च रहने भन्दै जनप्रतिनिधीहरुले समेत यो अभियानलाई सकरात्मक रुपमा लिएका छन्।

प्रकाशित मिति: : 2021-06-09 13:21:00

प्रतिकृया दिनुहोस्