रोल्पाका स्थानीय तहः आन्तरिक मूल्यांकनबाट विद्यार्थीको नतिजा सार्वजनिक गर्दै

File Photo
File Photo

रोल्पाका स्थानीय तहले विद्यार्थीको वार्षिक परीक्षाको नतिजा आन्तरिक मूल्याकङनबाट सार्वजनिक गर्न विद्यालयलाई निर्देशन दिएका छन्।  

कोरोना भाइरस संक्रमण बढ्दै जाँदा गत वैशाखमा वार्षिक परीक्षा सञ्चालन गर्ने तयारीमा रहेका स्थानीय तहले परीक्षा स्थगित गर्ने निर्णय गरेका थिए। महमारीका कारण लामो समयको निषेधाज्ञा र विद्यालय खोल्ने वातावरण नभएपछि जिल्लाका स्थानीय तहले आन्तरिक मूल्यांकनबाट नतिजा सार्वजनिक गर्न विद्यालयलाई निर्देशन दिएका हुन्।

सुनिलस्मृति गाउँपालिकाले अर्धवार्षिक र आन्तरिक मुल्यांकनका आधारमा कक्षा १ देखि ९ सम्मका विद्यार्थीको नतिजा जेठ २८ गतेभित्र सार्वजनिक गर्न निदेर्शन दिएको छ। तर कक्षा पाँचको वडास्तरीय र कक्षा आठको पालिकास्तरीय परीक्षा हुने व्यवस्था भएकाले नतिजा तयार पारेर पालिका र वडामा पठाउन सर्कुलर जारी गरेको शिक्षा अधिकृत यादव केसीले बताएका छन्। 

रुन्टीगढी गाउँपालिकाले पनि आन्तरिक मूल्यांकनबाट जेठ मसान्तसम्म सवै विद्यालयलाई नतिजा सार्वजनिक गर्न निर्देशन दिएकोे गाउँपालिका अध्यक्ष बालराम बुढाले बताएका छन्।  

गाउँ शिक्षा समितिको आइतबार सम्पन्न बैठकले विद्यार्थीहरुको त्रैमासिक, अर्धवार्षिक र अन्य विभिन्न मापदण्डलाई आधार मानेर नतिजा सार्वजनिक गर्ने निर्यण गरेको अध्यक्ष बुढाले बताए। 

माडी गाउँपालिकाले पनि अर्धवार्षिक परीक्षा, विद्यार्थीको हाजिर, अतिरिक्त क्रियाकलापको आधारमा नतिजा सार्वजनिक गर्न निर्देशन दिएको छ। गाउँपालिकाका अध्यक्ष नन्दबहादुर पुनका अनुसार कतिपय विद्यालयहरुले नतिजा सर्वाजनिक गरी सकेका छन्। 

सरकारले आगामी असारदेखि नयाँ शैक्षिक सत्र सुरु गर्ने निर्णय गरे पनि कोरोना संक्रमण दर बढीरहेकाले शैक्षिक सत्र सुरु गर्न नसकिने अध्यक्ष पुनको भनाई छ।

त्यसैगरी त्रिवेणी गाउँपालिकाले कक्षा एकदेखि तीनसम्मका विद्यार्थीलाई निरन्तर मूल्यांकन, कक्षा चार र पाँचलाई अर्ध वार्षिक परीक्षा बापत ५० प्रतिशत र निरन्त मुल्यांकन बापत ५० प्रतिशतको आधारमा नतिजा सर्वाजनिक गर्ने निर्यण गरको छ। 

कक्षा छ, सात र नाैलाई अर्धवार्षिक परीक्षा वापत ६० प्रतिशत र निरन्तर मूल्यांकन वापत ४० प्रतिशतको आधारमा नतिजा सर्वाजनिक गर्ने गाउँपालिकाले जनाएको छ। कक्षा आठको हकमा भने अर्धवार्षिक र प्रयोगत्मक तर्फको अंक विषयगत नियमानुसार तयार पारी २७ गतेभित्र पालिकामा पठाउन निर्देशन दिएको छ। गाउँपालिकाले जेठ ३० गतेसम्म सबै विद्यालयलाई नतिजा प्रकाशन गर्न आग्रह गरेको छ। 

लुंग्री गाउँपालिकाले परीक्षा सञ्चालन सम्बन्धी कार्यविधि बनाएर आन्तरिक मूल्यांकन र निरन्तर मूल्यांकनको आधारमा नतिजा सार्वजनिक गर्न लागिएको गाउँपालिका अध्यक्ष दुर्गाबहादुर खड्काले बताएका छन्। 

त्यसैगरी सुनछहरी गाउँपालिकाले अर्धवार्षिक परीक्षा र निरन्तर मूल्यांकनको आधारमा जेठ ३० गते सबै विद्यालयले  वार्षिक परीक्षाको नतिजा सार्वजनिक गर्ने गाउँपालिका अध्यक्ष आशबहादुर पुनले बताएका छन्। तर कक्षा आठको पालिका स्तरीय परीक्षा हुने व्यवस्था भएकाले जेठ ३० गते नै गाउँपालिकाले नतिजा सर्वाजनिक गर्ने बताए। असार १ गतेदेखि विद्यार्थी भर्ना अभियान सञ्चालन गरी असारको पहिलो हप्ताबाट नयाँ शैक्षिक सत्र सुरु गर्ने तयारी भएको अध्यक्ष पुनले बताए। 

रोल्पा नगरपालिका र गंगदेव गाउँपालिकाले पनि जेठ मसान्तसम्म परीक्षाकाे नतिजा सार्वजनिक गर्न सबै विद्यालयलाई निर्देशन दिएको छ। 

परिर्वतन गाउँपालिका र थबाङ गाउँपालिकाले भने वार्षिक परीक्षाको नतिजा कहिले सार्वजनिक गर्न कुनै तुंगो लगाएको छैन। कोरोना महमारीसँग जुधिरहेकाले केहिदिन भित्र तुंगो लगाउने गाउँपालिकाहरुले बताएका छन्।

प्रकाशित मिति: : 2021-06-07 20:33:00

प्रतिकृया दिनुहोस्