ओलीको आह्वानप्रति नेपाल समूहभित्र दुई दृष्टिकोणः सुरेन्द्र–योगेश सकारात्मक,नेपालले गरे स्वकीय सचिवमार्फत विरोध

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार राति जारी गरेको पार्टी एकताका लचकतासहितको छ बुँदे प्रस्तावले माधव नेपाल नेतृत्वको ‘समानान्तर समूह’ भित्र द्विविधा सिर्जना भएको छ। 
ओली पक्षसँग वार्तामा सहभागी योगेश भट्टराईले एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले जारी गरेको आह्वानलाई ‘सकारात्मक’ भन्दै समर्थन गरेका छन्। अनि पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले भने आफ्ना स्वकीय सचिव नितेष पौडेलमार्फत् ओलीको आह्वानको विरोध गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीनिकट एमाले शीर्षनेताहरुसँगको पटक–पटकको वार्तापछि उक्त अनौपचारिक सहमति बनेको हो । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेल र संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङसँगको नेपाल पक्षका नेताहरु सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण बिष्ट, योगेश भट्टराईको पटक–पटकको छलफलपछि अध्यक्ष ओलीले उक्त आह्वान गर्ने र त्यसैका आधारमा एकताबद्ध भएर अघि बढ्ने सहमति भएको हो।

प्रनिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गर्न जानुभन्दा अघिल्लो दिन राति दरबारमार्गस्थित होटेल याक एण्ड यतीमा प्रधानमन्त्रीका प्रतिनिधि र नेपाल समूहका नेताहरुबीच भएको छलफलकै आधारमा प्रधानमन्त्रीले आइतबार राति एकताको आह्वान गरेका हुन्। जेठ ११ गते राति भएको उक्त बैठकमा प्रधानमन्त्रीका तर्फबाट पौडेल र नेम्वाङ तथा नेपाल समूहका नेताहरु पाण्डे, भुसाल, भट्टराईलगायत सहभागी थिए।

सोही दिन सहमतिमा पुगिसकेको भए पनि जेठ १२ गते बिहान भीम रावलले उक्त सहमति बिथोलिदिएका थिए । प्रतिनिधिसभा पुनर्बहालीका लागि दर्ता गरिने रिटमा नेपाल, रावल, भुसाल र पाण्डे लगायत सो समूहका पूर्वसांसद्ले हस्ताक्षर गरेपछि प्रधानमन्त्रीले गर्ने उक्त आह्वान रोकिएको थियो। एमाले स्रोतका अनुसार, प्रधानमन्त्री ओलीले आह्वान गर्नुअघि पुनः नेपाल समूहका उक्त चार नेताहरुसँग पटक–पटक छलफल भएको थियो । त्यसैले योेगेश भट्टराईले सार्वजनिक रुपमा नै प्रधानमन्त्रीको आह्वानको स्वागत गरिसकेका छन्। 

भट्टराईले भनेका छन्, ‘एमाले अध्यक्ष कमरेड केपी शर्मा ओलीले नेकपा एमालेको एकताका लागि आज सार्वजनिक गर्नुभएको वक्तव्यमार्फत् गर्नुभएको आह्वान मूलतः सकारात्मक छ , कार्यदल स्तरको छलफललाई यो वक्तव्यले पुनःनिरन्तरता दिन बाटो खुलेको छ । ......वक्तव्यले पार्टीको शीर्ष नेतृत्वबीच सार्थक संवाद हुनेछ र नेकपा एमालेको एकतालाई अक्षुण राख्न मद्दत पुग्ने अपेक्षा गर्दछु । हजार माइलको यात्रा पहिलो पाइलाबाटै सुरु हुन्छ।’

वार्तामा सहभागी अर्का नेता घनश्याम भुसालले पनि उक्त आह्वानलाई अस्वीकार गरेका छैनन्। उनले आफूहरुले एकताको कुरा गर्दा आत्मसमर्पणको प्रचार गरिएकोमा आपत्ति जनाएका छन्। ओलीको अह्वानको भोलिपल्ट जेठ २४ गते अपरान्ह उनले सामाजिक सञ्जालमार्फत् दुखेसो पोखे, ‘फेरि हाम्रा विरुद्ध अनर्गल प्रचार शुरु भएको छ । हामीले एकताको कुरा गर्दा त्यसलाई आत्मसमर्पणको रुपमा व्याख्या गर्ने र विवादको कुरा गर्दा विभाजनको रुपमा व्याख्या गर्ने एउटा समूह नै तयार भएको छ । पञ्चायत कालमा राजनीतिलाई विकृत बनाउने सत्ता संरक्षित समूह मण्डलेका रुपमा स्थापित भयो । पञ्चायत धराशायी हुनुमा त्यस समूहको कम्ति योगदान थिएन । त्यसबेलाका कतिपय पञ्चहरु नै त्यस समूहसँग आजित भएर संसदमै ‘सुकुलगुण्डा’ भनेर विरोध गरेको सम्झिन्छु... ।’

भुसालनिकट अर्का केन्द्रीय सदस्यहरु ठाकुर गैरे लगायतले पनि प्रधानमन्त्रीको आह्वानको स्वागत गरेका छन् । यसले एमालेभित्रको वार्ता गरिरहेको समूह र यो समूहका नेतानिकट पंक्ति भने प्रधानमन्त्रीको आह्वानलाई एमालेलाई एकताबद्ध बनाएर लैजान चालिएको सकारात्मक कदमका रुपमा लिएको छ।

वरिष्ठ नेता नेपाल भने अध्यक्ष ओलीको आह्वानलाई सकारात्मक रुपमा लिन तयार छैनन्। नेपालका स्वकीय सचिव नितेष पौडेलले प्रधानमन्त्री ओलीको विज्ञप्तिलाई षड्यन्त्रको संज्ञा दिएका छन् । ‘विज्ञप्ति पढ्दा एकताको इमान्दार प्रयास जस्तो मलाई लागिरहेको छैन। शब्दहरु फेरि पनि जालिझेली षड्यन्त्रको गन्ध आउने नै देखिन्छन् किनकि एकताको आह्वान स्वयम् नै शर्तैशर्त तेर्सिएको छ । एकता नरम, लचिलो र हार्दिकता विकास गर्ने हुनुपर्छ। एकता आह्वान कुनै बादशाहको फरमान हो र ?....’  


पूर्वप्रधानमन्त्री नेपालका स्वकीय सचिव पौडेलबाहेक नेपालनिकट नेताहरु जगन्नाथ खतिवडा, बेदुराम भुसाललगायतले प्रधानमन्त्रीको आह्वानप्रति विरोध जनाएका छन्। यस हिसाबले हेर्दा नेपाल, भीम रावललगायतको ‘कोर ग्रुप’ ओलीको आह्वानविरुद्ध नै रहेको प्रष्ट देखिन्छ। नेपालले पनि उक्त आह्वानको ओलीलाई लिखित जवाफ दिने तयारी गरेका छन् ।  
नेताहरु सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, योगेश भट्टराईहरु भने यसप्रति सकारात्मक देखिन्छन् । पटक–पटक वार्तामा बसेका घनश्याम भुसालमा भने द्विविधा देखिएको आह्वानअघि छलफलमा सहभागी एक नेताले जानकारी दिए।

प्रकाशित मिति: : 2021-06-07 20:37:00

प्रतिकृया दिनुहोस्