कोरोना भ्याक्सिनको उत्पादनसँग बालुवा पनि जोडिएको बिषयले प्राकृतिक स्रोतको महत्व पुनः प्रमाणित भएको छ। मानव सभ्यता, जीवन र विश्व अर्थतन्त्रकालागि बालुवा-गिट्टी शक्तिशाली श्रोत भएर पनि असाध्यै उपेक्षामा पारिएको बहुमूल्य वस्तु हो भन्ने तथ्य, प्रमाण र अध्ययनले पुष्ठि गरेका छन्। विश्वभर बालुवाको अदृष्य कारोबार, अपराध, नीतिगत उदाशिनता, पिडितहरूको पिडा र कमाउनेहरूको झिलिमिलिबिच हालै नेपाल सरकारले बजेटमार्फत गिटी, रोडा, बालुवाका सम्बन्धमा गरेको नीतिगत निर्णय हेर्दा ‘खरानीका लागि घरमा आगो झोसिएको’ महसुस भएको छ। यो नीतिले राज्य निर्देशित पर्यावरणीय अपराध र विवेक शून्यताको स्थितिलाई पुनः झल्काएको छ।
पर्यावरणीय सङ्कट र भावी पुस्ताको भविष्यसमेत जोडिएका प्राकृतिक स्रोत साधनमाथि विना अध्ययन हचुवाको भरमा जनमत गुमाएका पदाधिकारीहरूले निर्णय गर्न नमिल्नु पर्ने हो तर गरियो! ‘नर्मदा वचाओ आन्दोलन’ मा भारतका स्थानीय किसान उठे झैँ खासगरी तराईका जनसमुदाय चुरे सम्पदा बचाउन जुरुक्क उठन आवश्यक देखिएको छ। साथै ‘सरकारहरू’ निर्देशित यो अपराधलाई रोक्न तमाम राजनीतिक दल, नागरिक समाज, संचार, वौद्दिक वर्ग र सर्वसाधारण एकै ठाउँमा उभिनु स्वभाविक हुनेछ।