'आर्मी अफ द डेड' : जहाँ रगतकाे खाेला मात्र बगेकाे छ

Breaknlinks
Breaknlinks

हलिउड सिनेमाका निर्देशक ज्याक स्नाइडर भाग्यमानी निर्देशक हुन्।

विज्ञान (साइन्स फिक्शन)मा आधारित सिनेमाका दर्शकहरुको लागि उनी परिचित छन्। तर उनकाे सिनेमाकाे लागि संयाेग पनि यस्ताे जुर्छ कि उनले जस्तो हावादारी सिनेमाको निर्माण गर्दा पनि सबै सिनेमा सुपर हिट भएको छ।

यो भन्दा पहिले 'म्यान अफ स्टिल', 'सकर पन्च' र 'वाच म्यान' जस्ता सुपर हिट सिनेमाको निर्देशन गरिसकेका स्नाइडर कुशल कलाकार र लेखक पनि हुन्।

उनको नयाँ सिनेमा 'आर्मी अफ द डेड' हालै नेट्फ्लिक्समा रिलिज भएको छ। करिब ९० मिलियन अमेरिकी डलरमा निर्माण भएको यो सिनेमाले विज्ञान कथामा रुचि नभएका दर्शकहरुको लागी कुनै मनोरञ्जन दिन सक्दैन। अझै भन्ने हाे भने यो सिनेमा "मास" को लागी नभएर "क्लास" को लागी हो।

आफ्नो पहिलेको सिनेमामा जस्तै यो सिनेमामा पनि निर्देशक स्नाइडरले रक्तपात, हो-हल्ला र लाशको खात लगाएका छन्। सिनेमामा कथा अनुसार रगतको खोला बगेको छ, जसलाई सामान्य अर्थात् पंक्तिकार जस्तो दर्शकले पचाउन सक्दैन।

सिनेमामा हिंसाको प्रधानता भएको कारण अन्य कथा, उपकथा र घटना "आउटअफ फोकस" देखिएको छ। निर्देशकले सिनेमामा नयाँ-नयाँ प्रविधिको उपयोग गर्दा कथा ओझेलमा पर्न गएको देखिन्छ। सिनेमाको सबैभन्दा प्रमुख कमजोरी नै यही हो।

सिनेमाको कथा अनुसार अर्ध-मानवहरुको बसोबास भएको काल्पनिक शहरमा घेराबन्दी गरेर परमाणु बम खसाउने र त्यो शहरको एउटा क्यासिनोको भूमिगत स्थानमा रहेको अकुत सम्पतिलाई कब्जा गर्ने उद्देशले एउटा समूह त्यो शहरमा जान्छ।

अर्ध-मानव र सम्पति कब्जा गर्ने शक्तिशाली समूहबीचको द्वन्द र त्यो द्वन्दको हिंसा नै सिनेमाकाे मूल कथा हो। अब मानव समूहले अर्ध-मानव समूहको सम्पत्ति कब्जा गर्न सक्छ वा सक्दैन, त्यो नै सिनेमाको मूल "सस्पेन्स" हो।

सिनेमालाई विभत्स बनाउन निर्देशकले हर-सम्भव कोशिस गरेका छन्। साथै बाउ-छोरीको भावनात्मक नातालाई देखाएर दर्शकलाई रुवाउने कोशिस पनि गरेका छन्।

सिनेमामा डेभ बाउटिस्टा, इल्ला पुर्नेल, टीग नुटार्टोजस्ता चर्चित कलाकारले अभिनय गरेका छन् तर यी कलाकारको काम बन्दुक पड्काउने र मान्छे मार्ने बाहेक अर्को छैन।

सिनेमामा हिन्दी सिनेमा कि कलाकार हुमा कुरेशी (गीता) ले पनि अभिनय गरेकी छिन्। उनको सुन्दर र निर्दोष अनुहारले भने पंक्तिकार जस्तो दर्शकको ध्यान खिच्न सफल छ।

पार्श्व संगीतमा टम हल्केन्बर्गले नयाँ प्रयोग गरेका छन् तर सम्पादक डडी डर्नले सिनेमालाई अनावश्यक लामो बनाएर के गर्न खोजेका हुन्, बुझ्न सकिएन।

हिंसा, द्वन्द र रगतबाहेक अर्को केही नभएको यस्तो सिनेमा हेर्नु भनेको समय र पैसाको दुरुपयोग हो। समग्रमा सिनेमा बेकार छ।

प्रकाशित मिति: : 2021-06-06 19:43:00

प्रतिकृया दिनुहोस्