पाकिस्तानका चर्चित पत्रकार हामिद मीरमाथि लेख्न र बोल्न प्रतिबन्ध

बिएल संवाददाता

इस्लामाबाद
Photo : dailytimes
Photo : dailytimes

सेनाविरूद्ध लेख लेखेको आरोपमा पाकिस्तानका चर्चित पत्रकार हामिद मीरमाथि राजद्रोहको मुद्धा दायर हुने सम्भावना बढेको छ।

मीर पाकिस्तानको टिभी च्यानल जियोमा ‘क्यापिटल टक’ नामक कार्यक्रम सञ्चालन गर्छन। उनलाई दुई पल्ट मार्ने प्रयास पनि भएको थियो। केही दिनअघि इस्लामाबादमा एक पत्रकारमाथि भएको हमलाको विरोध प्रदर्शनमा मीर पनि समावेश भएका थिए।

उनीमाथि सेनाविरूद्ध आपत्तिजनक बयान दिएको आरोप लागेको छ। पाकिस्तानी सेनाको दख्खलपछि टिभी च्यानलबाट उनको कार्यक्रम हटाइएको छ। जुन पत्रपत्रिकामा उनी कलम चलाउँथे, त्यहाँ पनि उनको आर्टिकल प्रकासित गर्न मनाही गरिएको छ।

सरकारको कार्यशैलीविरूद्ध कलम चलाएबापत मीरले दुई पल्ट जागिर गुमाइसकेका छन्। सन् १९९४ मा बेनजीर भुट्टो प्रधानमन्त्री हुँदा र १९९७ मा नवाज शरीफ प्रधानमन्त्री हुँदा उनको जागिर गएको थियो।

सैन्य शासक परवेज मुशर्रफको कार्यकालमा पनि दुई पल्ट उनको टिभी कार्यक्रममा प्रतिबन्ध लागेको थियो। तर, त्यतिबेला उनलाई पत्रपत्रिकामा आफ्नो विचार राख्ने मौका दिइएको थियो। तर, अहिले उनलाई टिभी मात्र होइन, पत्रपत्रिकामा लेख्न पनि प्रतिबन्ध लगाइएको छ।

उनी डेली जंग पत्रिकामा लेख छाप्थे। आधिकारीक रुपमा कुनै नियामक संस्था वा अदालतले उनलाई कानुनी नोटिस दिएको छैन। तर, सेनाको दबाबमा यी काम भइरहेको उनको बुझाई छ।

मीरले अन्य प्रधानमन्त्री जस्तै इमरान खान पनि लाचार देखिएको बताए। सन् २०१४ मा उनीमाथि हत्याको प्रयासले आक्रमण हुँदा इमरान खान उनको समर्थनमा अगाडी आएका थिए। त्यतिबेला शरीफ प्रधानमन्त्री थिए। उनीमाथि आक्रमण गर्ने व्यक्तिहरु अहिलेसम्म पक्राउ परेका छैनन्।

सन् २०१२ मा पनि उनको कारमा बम जडान गरिएको थियो। तर, उनी बाच्न सफल भएका थिए। यतिबेला युसुफ रजा गिलानी प्रधानमन्त्री थिए।

पाकिस्तानमा पत्रकारिता उच्च जोखिममा पर्दै आएको छ। सन् १९९० देखि २०२१ सम्म आइपुग्दा १ सय ४० पत्रकार कार्यथलोमा हुँदा मारिएका थिए।

प्रकाशित मिति: : 2021-06-05 14:36:00

प्रतिकृया दिनुहोस्