गायक डम्बर नेपाली भन्छन्- 'छाक टार्न साथीभाईसँग आलाे-पालो गर्नुपर्ने अवस्था आइसक्याे'

Breaknlinks
Breaknlinks

कोरोना महामारीले चलचित्र तथा संगीत क्षेत्रलगायत विभिन्न मनोरञ्जनात्मक क्षेत्रहरु ठप्प छन्। 

सधैँ व्यस्त भइरहने कलाकार, गायक-गायिकाहरु यतिबेला फुर्सदिला बनेका छन्। केही कलाकार त सहयोगमा मा पनि जुटिरहेका छन्। तर केही कलाकारहरुलाई भने सकस नै परेको छ।

यसैबीचमा निम्नस्तरबाट संघर्ष गरिरहेका कलाकारहरुलाई महामारीले थप समस्यामा पारेको गायक डम्बर नेपालीको ठम्याई छ।

उनले बिएल नेपाली सेवालाई कोरोना कहरको अनुभव यसरी सुनाएका छन्ः उनकै शव्दमा

कलाकारहरुको मुख्य आम्दानी भनेको ‘प्रोगाम’ हो। तर, अहिले सबै बन्द छन्। हाम्रो विजोकको अवस्था छ। जमघट नहुने भएपछि जिल्ला-जिल्लामा हुने महोत्सव तथा मेला हुने कुरै भएन। आर्थिक रुपमा राम्रो भएका कलाकारहरु सुरक्षित भएर बसेका छन्।

निम्नस्तरबाट संघर्ष गरिरहेका कलाकारहरुको अवस्था झनै बिग्रिएको छ, दयनीय छ। गाह्रो त सबैलाई छ यो बेलामा, त्यसमा पनि कलाकारहरुलाई अझ धेरै गाह्रो छ। साँझ-बिहान छाक टार्न गाह्रो भैसकेको छ, कलाकारलाई। अब सरकारले त हेर्ने छाटकाँटै छैन्।

कलाकारलाई हेर्न सरकारको त आँखै छैन्, नेपाली कलाकारलाई सकारले चिन्दैन, हेर्दैन। तर, सबै कलाकारको आर्थिक अवस्था राम्रो पनि त छैन नि !

गाउँघरबाट संघर्ष गरेर आएको कलाकारहरुलाई त साँझ बिहानको छाक टार्न गाह्रो भइरहेको छ। मलाई पनि गाह्रो छ नि, सबैले कलाकार भन्छन्, सेलिब्रेटी भनेपछि सबैलाई दु;ख देखाएर हिँड्ने कुरा पनि भएन। हैन र ?

सजिलो पनि हुन्थ्यो होला, आफ्नो गीतका पारिश्रमिक सबै आफूले पाए। पारिश्रमिक पनि सबै कम्पनी भनाउँदाहरुले खाइदिन्छन्। संकटको बेला अब कसरी बाच्ने ? अहिले अब कार्यक्रम नै छैन।

पहिला-पहिला फलानो कलाकार कार्यक्रमको लागि विदेश गए अरे भन्थे ! कलाकारहरु विदेश पलायन किन हुन्छन् भन्ने कुराको अर्थ बुझेको थिइन। तर, अहिले बुझ्न थाले। कलाकारको पनि घर परिवार हुन्छ, कलाकारलाई पनि अर्थको 'व्याकप' चाँहिन्छ।

गीत गाएर, भिडियो र फिल्म खेलेर मात्रै भात पाक्दैन्। सुटिङ मात्रै गरेर भात पाक्दैन्। बाँच्नको लागि त चामल हुनुपर्‍यो, सब्जी हुनुपर्‍यो। गाह्रो छ अब कसलाई देखाउने कसलाई भन्ने?

अब अँ.अलिकति कलाकारलाई हेर्ला, बुझ्ला भनेको सरकार पक्षले हो, हैन्? सरकारले हेर्छ भन्ने कुरा हो तर, सरकारले... अझ यसरी भन्दा पनि हुन्छ। सरकारले कलाकार चिन्दै चिन्दैन क्या !

पहिलो कुरा त सरकारलाई कलाकार को हो भन्ने कुरा त थाहा नै छैन्। कलाकार को हो, के हो भन्ने कुरा नै थाहा छैन्। अरु देशमा हो भने यतिबेला कुन कलाकारलाई के समस्या छ। सरकारले सोधी खोजी गर्थ्याे।

त्यहाँको सरकारले कलाकारहरुलाई आर्थिकदेखि लिएर हरेक कुराहरु पुर्‍याइरहेको देख्छौ। अहिले इन्टरनेटको जमानामा हामीले देख्छौ।

हाम्रो देशमा त्यो त सोच्ने मात्र हो। एउटा 'इस्टाब्लिस' कलाकारलाई उसले गीत चले अनुसार उसले पारिश्रमिक सबै पाएको भए उसलाई राम्रो सँग खान लाउन पुग्छ, तर अब नेपालमा 'काम गर्ने कालु मकै खाने भालु' भने जस्तो शोसण मात्रै छ।

निम्नस्तरको कलाकारले कसलाई दु;ख देखाउने ? कल्लाई ब्यथा बिसाउने?

कसले दिन्छ ? कलाकारको हकहितका लागि काम गर्छु भन्ने संघलाई केही मतलब नै छैन। किनभने त्यहाँ पनि सबै हुने खाने मात्रै छैनन् क्या !

नहुनेहरुको त 'धोति न टोपी'। काठमाडौंमा कलाकारहरु आज एकजनाकोमा, भोलि अर्कोकोमा गएर हातमुख जोड्ने भन्दै पालो-पालो गर्न थालेका छन्। अनि आयस्रोत नभएपछि के गर्नु त, न बाहिर हिँड्न पाइन्छ न केही गर्न पाइन्छ।

साथीभाई भेट्न पाएपनि केही सहज हुन्थ्यो, बाहिरी हिँड्ने बित्तिकै डण्ठा हान्छ। अनि उपाय के छ र ? 

प्रकाशित मिति: : 2021-06-03 18:55:00

प्रतिकृया दिनुहोस्