ओलीको चक्करमा परेर ‘हिस्स’ परिएला कि भन्ने डर!

आयोमेल

काठमाडौँ

सरकारमा जान तयार भएर बसेको जनता समाजवादी पार्टी (जसपा) महन्थ–राजेन्द्र पक्ष पछिल्लो समय हच्किएको छ। सरकारमा आउन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको आग्रहको चक्करमा परेर ‘हिस्स’ परिएला कि भन्ने ‘डर’ का कारण उनीहरू सत्ता साझेदार बन्न हिच्किचाएका हुन्।

बजेट घोषणा भएको भोलिपल्ट १६ जेठमा जसपा अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतोलगायतका नेताहरू बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग झन्डै चार घण्टा छलफल गरेका थिए।

ओली र ठाकुरलगायतका नेताहरूको छलफललाई जसपा नेताहरूले ‘निर्णायक’ वार्ता भने। जसपा नेताहरूले नै त्यतिबेला भनेअनुसार ‘८ मन्त्री र २ राज्यमन्त्रीमा सहमति भएको र सकभर आजै अथवा भोलि सरकारमा सहभागी भइन्छ।’

‘निर्णायक’ भनिएको बालुवाटार वार्ताको पाँच दिन बितिसक्दा पनि महन्थ–राजेन्द्र समूह सरकारमा गएको छैन। सरकारमा सहभागी हुन महन्थ–राजेन्द्र समूहलाई पार्टीको कचिङ्गलका साथै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन र प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै सर्वोच्च अदालतमा विचाराधीन मुद्दाले डर पैदा गरिदिएको छ।

कारबाहीको लफडा
महन्थ–राजेन्द्र समूह सरकारमा जान तयारी गरिरहेकै बेला अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेता लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टीबाट निष्कासन गरिएको जानकारी निर्वाचन आयोगमा गराएका छन्।

महन्थले पनि ‘काउन्टर’ दिँदै उपेन्द्रलाई पार्टीबाट निष्कासन गरिएको जानकारीसहितको पत्र त्यही दिन आयोगमा दर्ता गराए। पार्टीबाट निर्णय गराएर सरकारमा जाने तयारी गरिरहेको महन्थ–राजेन्द्र पक्षलाई उपेन्द्रको कारबाहीले सकस बनाएको छ।

ओली नेतृत्वको सरकारमा सहभागी हुनुअघि निर्वाचन आयोगसम्म पुगिसकेको विवाद समाधान गर्ने ध्याउन्न महन्थ–राजेन्द्र पक्षको छ।

प्रकाशित मिति: : 2021-06-03 19:00:00

प्रतिकृया दिनुहोस्