महामारीले हाम्रो सामु चुनौतीको पोको राखिदिनुका साथै शैक्षिक क्रान्तिलाई विश्रामरहित ढङ्गले अघि बढाउने जिम्मेवारी सुम्पेको छ।
कोरोना महामारीको यो घडीमा अरू क्षेत्रमा जस्तै शिक्षामा पनि आमविरक्ति छाएको छ। महामारीले स्कूल, कलेज र विश्वविद्यालयहरूको शैक्षिक क्यालेण्डर चौपट पारेको छ। स्कूल–कलेज सञ्चालक तथा लगानीकर्ता समस्यामा फँसेका छन् भने शिक्षक, विद्यार्थी र अभिभावकहरूमा पनि हैरानी र छटपटी छ।
एक वर्षभन्दा लामो समयदेखि शिक्षा क्षेत्र अस्तव्यस्त हुँदा कहिले थामिँदै त कहिले सुस्त गतिमा अघि बढ्दै आएको पठनपाठनको क्रम फेरि थामिएजस्तै भएको छ । विश्व आर्थिक मञ्चको वेबसाइटमा प्रकाशित एक सामग्रीका अनुसार, गतवर्ष विश्वभर स्कूल बन्द हुँदा साढे एक अर्ब विद्यार्थीको पठन–पाठन प्रभावित भएको थियो । फोर्ब्स म्यागजिनको वेबसाइटमा छापिएको एक लेखका अनुसार कोरोना महामारीका कारण त्यसबेला १० लाख शिक्षकले काम गुमाएका थिए।
नेपालमा पनि कोरोना महामारीको चपेटामा धेरै शिक्षकले काम गुमाएका छन् भने कतिपयले पाउनुपर्ने जति पारिश्रमिक पाएका छैनन्। यसप्रकारको अनिश्चयबाट उनीहरूको पारिवारिक अर्थतन्त्रमा गम्भीर धक्का पुगेको छ।
कोरोना महामारीले निम्त्याएको विपतका कारण विश्वले शिक्षा क्षेत्रमा सात दशक यता प्राप्त गरेको उपलब्धिमा गम्भीर धक्का पुग्नलागेको भनेर चिन्ता प्रकट गरिँदैछ। महामारीमै कतिपय बालबालिकाले आफ्नो सहारा र माया–ममताका खानी अभिभावक गुमाएका छन् । उनीहरूको भविष्य कठोर चुनौतीले घेरिएको छ। संयुक्त राष्ट्रसङ्घले अगष्ट २०२० मा जारी गरेको ‘पोलिसी ब्रिफिङ’ मा कोरोना महामारीले कर्मजीवी परिवारको आम्दानीको स्रोतमा धक्का पुर्याउँदा विश्वभर लगभग २४ करोड बालबालिकाको शैक्षिक भविष्य सङ्कटमा पर्नसक्ने प्रक्षेपण गरेको थियो।