व्यावसायिक उच्च शिक्षा प्राप्त गर्ने ९० प्रतिशतले रोजगारी पाए : प्रतिवेदन

फाइल तस्वीर
फाइल तस्वीर

विगत पाँच वर्षको तथ्याँक विश्लेषण गर्दा चीनका व्यावसायिक उच्च शिक्षा विषय अध्ययन गर्नेमध्ये करिब ९० प्रतिशतले रोजगारी पाएको देखिएको छ।

आइतबार सार्वजनिक प्रतिवेदनमा स्नातक अध्ययन पूरा गरेको छ महिनाभित्रै उनीहरुले रोजगारी पाइसकेको उल्लेख छ।

नेसनल इन्स्टिच्यूट अफ एजुकेसन साइन्सले तयार पारेको प्रतिवेदनमा व्यावसायिक (भोकेसनल) विषयका स्नातकहरुले रोजगारी पाउने अवस्था पाँच वर्षदेखि स्थिर रहेको उल्लेख छ।

स्नातक उपाधि प्राप्त गरेका त्यस्ता व्यक्तिको सन् २०१८ र २०१९ मा आफ्नो तलबमानमा ७.३७ प्रतिशतले वृद्धि भएको देखिएको छ।

स्नातक गरेका ९३ प्रतिशतभन्दा बढीले आफूहरुले प्राप्त गरेको शिक्षाबाट सन्तुष्ट रहेको बताएका छन्, प्रतिवेदनमा समेटिएका विद्यार्थीको भनाई छ।

प्रतिवेदनका अनुसार, अधिकांश स्नातकले निजी क्षेत्र र व्यक्तिगत व्यवसायमा काम पाएका छन्। उनीहरुले खासगरी शिक्षा, निर्माण, स्वास्थ्य र सामाजिक सेवाका क्षेत्रमा काम पाएका छन्।

प्रतिवेदनमा व्यावसायिक शिक्षाले क्षेत्रीय विकासमा पनि टेवा पु–याएको उल्लेख छ। स्नातक विद्यार्थीमध्ये अधिकांशले आफू बसोबास गरेकै क्षेत्रमा काम गर्न रुचाएको देखिएको छ।

करिब ६६ प्रतिशतले साना तथा मध्यम आकारका उद्यममा काम पाएका छन्। यसबाट स्थानीय अर्थतन्त्रको विकासका लागि आवश्यक प्रतिभाहहरु उपलब्ध गराउन ठूलो मद्दत पुगेको पनि प्रतिवेदनमा जनाइएको छ।

प्रतिवेदनले शैक्षिक प्रणाली, विद्यालय सञ्चालन, शिक्षण र विद्यार्थी विकास समेतका विभिन्न विषयलाई मुख्य रुपमा केन्द्रित गरेको थियो। रासस–सिन्ह्वा

प्रकाशित मिति: : 2021-05-30 16:58:00

प्रतिकृया दिनुहोस्