विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले शुक्रबार कोभिड– १९ भाइरसको उत्पत्तिबारे अध्ययन ‘राजनीतिकरणको बिषय नभएको’ भन्दै यसलाई राजनीतिकरण नगर्न आग्रह गरेको छ।
अध्ययनको सम्पूर्ण प्रक्रियालाई राजनीतिले विगारेको संगठनले बताएको हो। जेनेभामा शुक्रबार डब्ल्यूएचओले गरेको पत्रकार सम्मेलनमा बोल्दै डब्ल्यूएचओ स्वास्थ्य सङ्कटकाल कार्यक्रमका कार्यकारी निर्देशक माइक रायनले भने, 'सम्बन्धित सबैले यस (कोभिड–१९) को उत्पत्तिको विषयलाई राजनीति होइन वैज्ञानिक तरिकाले हेर्नुपर्छ। अनुसन्धानमा सघाउनुपर्छ र अध्ययनको रिपोर्ट विवादरहित बनाउनुपर्छ।'
'यदि तपाइँले वैज्ञानिकहरूको कामको अपेक्षा गर्नुहुन्छ भने तपाइँ वैज्ञानिकहरूसँग सहकार्य गर्नसक्नुहुन्छ र यसबाट तपाइँले चाहनुभएको जवाफहरू प्राप्त गर्नुहुन्छ। वास्तवमा भाइरसको उत्पत्ति पत्ता लगाउन दोषारोपणरहित वातावरणको आवश्यक छ। भाइरस उत्पत्तिको विषय राजनीतिक दोष नलागेको हुनुपर्छ।'
डब्ल्यूएचओका वरिष्ठ अधिकारीले सार्स–कोभ २ भाइरसको सम्भावित उत्पत्तिसम्बन्धी समाचार, प्रमाण वा नयाँ सामग्रीका साथ ‘सञ्चारमाध्यममा अधिक छलफल भएको’ र यो चिन्ताको विषय भएको छ।
सबै मुलुकका सरकारहरूले सँगै मिलेर काम गर्ने र भाइरस मूल अध्ययन सफलतापूर्वक सम्पन्न गर्नका लागि वातावरण सिर्जना गर्न आह्वान गर्दै रायनले भने, 'यस मुद्दाको वर्तमान राजनीतिकरणले डब्ल्यूएचओलाई जवाफ दिन कठिन बनाएको छ।'
भाइरसको उत्पत्ति पत्ता लगाउन धेरै अध्ययन र बहु अभियानहरू आवश्यक पर्दछन् यसका लागि सहयोग, खुलापन र समय आवश्यक रहेको उनको भनाइ थियो। रासस/सिन्ह्वा