अनेकौं हिमालको मौलिक नामाकरण गर्न बाँकी नेपालले 'माउन्ट एभरेष्ट' को मौलिक नाम स्थापित गर्नेतर्फ सोच्न ढिलो गर्नुहुन्न।
हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा,
गम्केर बज मुर्चुङगा झम्केर नाच मयुरा ...।
कवि धर्मराज थापाले आफ्नै रचनामा गाएका यो गीत कुनैवेला नेपाली जनजिब्रोमा मज्जैले झुन्डिएको थियो। यो गीत सुन्दा वा गुन्गुनाउँदा अहिले पनि नेपालीको छाती ढक्क फुल्छ। गीतमा भनिएजस्तै सगरमाथामा प्रथम मानव पाइला, त्यसमा पनि एक नेपालीको समेत पाइला, परेपछि नेपालको नाम विश्वभरि फैलिएको र ठूलो उल्लासको सञ्चार भएको थियो।
नेपालका तेञ्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका एडमन्ड हिलारी सर्वप्रथम सगरमाथाको चुचुरोमा पुग्न सफल भएका थिए। सन् १९५३ मे २९ तारिखको बिहान ११.३० बजेको समयमा पहिलो पटक मानव पाइला सगरमाथाको चुचुरो टेक्न सफल भएको थियो।
गोरखाको बारपाक केन्द्रविन्दु भएर २०७२ सालमा गएको भूकम्पले हजारौंको ज्यान लियो। भूकम्पपछि यसले हिमालयमा पारेको असरको पनि विश्लेषण हुनथाल्यो। क्याम्ब्रिज विश्वविद्यालयका भूगर्भविद् जेम्स ज्याक्सनले सगरमाथाको सतहमा फेरबदल हुनसक्ने बताए। उनको दाबीलाई उद्धृत गर्दै नेशनल जियोग्राफिकले सगरमाथाको उचाइ १० सेमी बढेको उल्लेख गर्यो।
पहिले पनि हङकङ विश्वविद्यालयका भौतिकशास्त्री डा. लुङएस चाङले भारतीय प्लेट र युरेसियन प्लेटबीचको निरन्तर घर्षणले सगरमाथा लगायतका हिमशृङ्खलाको उचाइ हरेक वर्ष १ सेमी को दरले बढिरहेको छ भनेका थिए। केही वर्षअघि अमेरिकी वैज्ञानिकहरूले प्लेटहरूको चालका कारण सगरमाथाको नयाँ उचाइ ८८५० मिटर भएको बताइसकेका थिए।