के न्यायाधीश बमकुमार श्रेष्ठले संवैधानिक इजलास छाड्लान्?

नेपाल खबर

काठमाडाैं

शुक्रबार दिउँसो २ बजेर १२ मिनेटमा सर्वाधिक चासोको रिटमाथि संवैधानिक इजलासमा बहस सुरु हुन लाग्यो। नेपाल बार एसोसियसनको हलमा कानुन व्यवसायी र पत्रकारको चाप र चासो बढ्यो।

शेरबहादुर देउवासहितका १४६ सांसदले दायर गरेको रिटमा बहस गर्न आइपुगे अधिवक्ता गोविन्द बन्दी। उनलाई प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले सोधे, ‘तपाईंहरुलाई कति समय लाग्छ?’

‘तपाईंहरुलाई आइतबार हाफ डेसम्म, २ बजेसम्म,’ प्रधान्यायाधीश राणाले समय छुट्याए।

अधिवक्ता बन्दीले सुरुमै एउटा प्रसंग उठाउने अनुमति मागे।

‘हामी कानुन व्यवसायी हौँ, कानुन व्यवसायी भएकोले हाम्रो सर्वोपरि नै अदालत हो। त्यही भएकाले अदालतको मर्यादा पनि हाम्रो सरोकारको विषय हो। अदालतको मर्यादाको सरोकारको प्रश्न रहिरहँदा त्यो मर्यादा अरुले उल्लंघन गर्न खोज्यो भने हामी उभिन्छौँ। कहिलेकाहीँ अदालतले जानीनजानी गरेका कामहरुबाट पनि अदालतको मर्यादाचाहिँ रहिरहनुपर्छ र अदालतले मर्यादा कायम राख्नुपर्छ,’ बन्दीले भने।

यति भूमिका बाँधिसकेपछि उनले इजलास गठनमाथि प्रश्न उठाए।

‘बेन्चमा आइरहँदा सामाजिक सञ्जालहरुमा मैले समाचारहरु हेरेँ। यो देखिसकेपछि आज अलिकति सल्लाह पनि भयो। खासगरी यो बेन्चलाई भन्दापनि माननीय बमकुमार श्रेष्ठ श्रीमानको हकमाचाहिँ,’ अधिवक्ता बन्दीले भने, ‘बमकुमार श्रेष्ठको बेन्चकै फैसलाले नेपाल कम्युनिस्ट पार्टीलाई दुई टुक्रा बनाएको थियो। त्यसले गर्दा यति गम्भीर संवैधानिक महत्वको विषयमा बमकुमार श्रेष्ठ श्रीमान् बेन्चबाट हट्नु भयो भने यसको निष्पक्षता कायम गर्ने कुरामा मद्दत पुग्छ भन्ने हामीलाई लाग्छ। श्रीमान् यति कुरा मैले अनुरोध गर्न चाहेँ।’

प्रकाशित मिति: : 2021-05-28 20:25:00

प्रतिकृया दिनुहोस्