चीनबाट श्रीलङ्कालाई दोस्रो चरणको खोप प्राप्त

शक्तिशाली मुलुक चीनले आफ्नो छिमेकी मुलुक श्रीलङ्कालाई कोरोनाभाइरस विरुद्ध लगाइने दोस्रो चरणको खोप पनि उपलब्ध गराएको छ।

चीन सरकारले दिएको दोस्रो चरणको खोप बुधबार स्वदेश आइपुगेको श्रीलङ्काका अधिकारीले जानकारी दिएका छन्। कोरोनाभाइरस विरुद्ध प्रयोग हुँदै आएको सिनोफर्मा खोप दोस्रो चरण अन्तर्गत पाँच लाख मात्रा चीनले श्रीलङ्कालाई उपलब्ध गराएको हो।

कोरोनाभाइरसको महामारी फैलिइरहेको श्रीलङ्कामा खोपको अभाव भइरहेका बेला चीनले दोस्रो पटक पनि खोप उपलब्ध गराएपछि ठूलो राहत महसुस भएको अधिकारीले जनाएका छन्। 

'चीनले दोस्रो पटक उपलब्ध गराएको पाँच लाख खोप बुधबार विहानै हामीले प्राप्त गरेका छौँ', श्रीलङ्काली एक अधिकारीले भने। चीनले यसअघि पहिलो चरण अन्तर्गत श्रीलङ्कालाई गत मार्चमा छ लाख मात्रा खोप उपलब्ध गराएको थियो।

भारतमा कोरोनाभाइरसको महामारी फैलिएको र भारतले अन्य देशलाई खोप उपलब्ध गराउन नसकेकाले श्रीलङ्कालगायतका धेरै देश मर्कामा परेका छन्। खोपका लागि श्रीलङ्काले अहिले पश्चिमी प्रान्तलाई प्राथमिकतामा राखेको पाइएको छ। राजधानी कोलम्बोसहित क्षेत्र प्राथमिकताको सूचीमा परेका हुन्।

यी क्षेत्रमा मात्रै कोरोनाभाइरसबाट सङ्क्रमितको सङ्ख्या अत्यधिक धेरै भएकाले खोप लगाउन पनि तीनै क्षेत्रलाई प्राथमिकतामा पारिएको अधिकारीले जनाएका छन्। 

श्रीलङ्कामा अहिलेसम्म कोरोनाभाइरसबाट एक लाख ६७ हजार १७२ जना सङ्क्रमित भएको तथ्याङ्क रहेको छ। त्यसैगरी अरु एक हजार २४३ जनाको कोरोनाकै कारणले मृत्यु भएको सरकारी निकायले जनाएका छन्। 

प्रकाशित मिति: : 2021-05-27 07:23:00

प्रतिकृया दिनुहोस्