जसपा औपचारिक फूटको तयारीमा, पार्टी केन्द्रीय कार्यालय पनि बेग्लाबेग्लै

Breaknlinks
Breaknlinks

एक वर्षअघि रातारात दुई वटा पार्टी मिलेर बनेको ‘जनता समाजवादी पार्टी’ (जसपा) एकीकरण पूरा नहुँदै पुनः फुट्ने भएको छ। भौतिक रुपमा विभाजित जसपा कानूनी रुपमा समेत विभाजित हुने प्रक्रिया अघि बढेको छ।

जसपाको महन्थ ठाकुर–राजेन्द्र महतो पक्षले बबरमहलस्थित पुरानो राजपा केन्द्रीय कार्यालयलाई पार्टी कार्यालयका रुपमा प्रयोग गर्न थालिसकेको छ। उपेन्द्र–बाबुराम पक्ष भने बालकुमारीस्थित साविक समाजवादी पार्टीको कार्यालयलाई नै प्रयोग गर्न थालिसकेको छ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन गर्ने कि विपक्षी गठबन्धनमा सहभागी भएर कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वमा सरकार बनाउने भन्ने विवादमा यो दल विभाजित हुने भएको हो।

विभाजनको तयारीस्वरुप मंगलबार पार्टीका पहिलो वरियताका अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवसँग तीन दिनको समय दिएर सातबुँदे स्पष्टीकरण सोधेका छन्। त्यसको एक दिनपछि बुधबार अर्का अध्यक्ष उपेन्द्र यादवले पार्टीका वरिष्ठ नेतासमेत रहेका पार्टी संसदीय दलका नेता राजेन्द्र महतोलाई तीन दिनकै समय दिएर छबुँदे स्पष्टीकरण सोधेका छन्।

ठाकुरले सोधेको स्पष्टीकरणमा उपेन्द्र यादवले पार्टी संसदीय दलको जेठ ६ गतेको निर्णयबमोजिम केपी शर्मा ओलीको पक्षमा लाग्नुपर्नेमा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन लागिपर्नु पार्टी निर्णयको विपरीत भएको आरोप लगाइएको छ। त्यसै गरी संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा १४६ सांसद्ले हालेको मुद्दामा हस्ताक्षर गरेकोप्रति पनि आपत्ति जनाइएको छ।

उपेन्द्र यादवले जसपा वरिष्ठ नेता एवम् संसदीय दलका नेता राजेन्द्र महतोलाई सोधेको स्पष्टीकरणमा प्रधानमन्त्री ओलीलाई साथ दिएकोमा आपत्ति जनाइएको छ। यादवले महतोलाई संसदीय दलको नेतासमेत अस्वीकार गर्दै सोधेका छन्, ‘तपाईंले के आधारमा आफूलाई संसदीय दलको नेता स्वघोषणा गर्नुभो ?’

उपेन्द्र यादव पक्षले जसपाका नेताहरु लक्ष्मणलाल कर्ण र सवेन्द्रनाथ शुक्लमाथि कारवाहीको प्रक्रिया अघि बढाएको छ, दुवै जना महन्थ ठाकुरनिकट हुन्। कर्ण र शुक्ल अध्यक्ष ठाकुरद्वारा एमालेसँग संविधान संशोधन कार्यदलमा पठाएका दुई जना केन्द्रीय नेता हुन्। उनीहरुले मधेश आन्दोलनका बेलाका मुद्दा फिर्ता, नागरिकता अध्यादेश जारी गर्नेदेखि संविधान संशोधनसम्मका विषयमा एमालेसँग सहकार्य गरेका थिए।

दुवै स्पष्टीकरण एकले अर्कोलाई कारवाही गरेको घोषणा गर्ने उद्देश्य रहेका प्रष्टै देखिन्छ। साविक जनता समाजवादी पार्टीका अध्यक्ष मण्डलका सदस्य रहेका महेन्द्र राय यादवसहित तीन जना केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरु उपेन्द्र यादव खेमामा लागेपछि केन्द्रीय समितिमा ठाकुरले बहुमत गुमाएका छन् भने संसदीय दलमा ठाकुरको पक्षमा २० जना सांसद छन्। उपेन्द्र यादव–बाबुराम भट्टराईसँग १२ जना मात्र सांसद् छन् जसले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरिसकेका छन्।

महन्थ ठाकुरले सोधेको उपेन्द्र यादवलाई सोधेको स्पष्टीकरणमा भनिएको छ, ‘विगत केही दिनदेखि तपाईंका काम–कारवाही र क्रियाकलाप हाम्रो पार्टी जनता समाजवादी पार्टीको मूल्य मान्यता, नीति र विधान विपरीत भइरहेको हुँदा तपाईंलाई पार्टी विधानको दफा ४९ मा भएको अनुशासनको कारवाहीसम्बन्धी व्यवस्थाअनुसार तपाईंलाई यो स्पष्टीकरण सोधिने कार्य भएको छ।’

ठाकुरले यादवलाई पार्टी एकता भएदेखि नै समायोजनमा रुचि नलिई गुटगत रुपमा पार्टी एकताविरोधी गुटगत बैठक, प्रशिक्षण, गोष्ठी र भेला गरेको आरोप लगाएका छन्।

ठाकुरले आफ्नो जानकारीबेगर नै ‘अनधिकृत रुपमा केन्द्रीय कार्यकारिणी समितिको तथाकथित बैठक बसी लुम्बिनी प्रदेशका चारजना प्रदेशसभा सदस्य किन निष्कासन गर्नुभयो ?’ भनी प्रश्न गरेका छन्।

ठाकुरले जेठ ७–८ गतेको केन्द्रीय कार्यकारिणी समितिको बैठक कोरोनाका कारण आफूले स्थगित गरेकोमा बैठक डाकी उपेन्द्र यादवले एकल अध्यक्षता गरी पार्टीहित विपरीत निर्णयहरु गराएको आरोप लगाएका छन्। उनले स्पष्टीकरणमा कुन मनशायले त्यसो गरेको भनी प्रश्न उठाएका छन्। 

ठाकुरले आफूले रोक्दारोक्दै पनि पछिल्लो समय पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकहरु बसी पार्टीहितविपरीत निर्णयहरु किन गरेको भन्ने पनि प्रश्न गरेका छन्।

उपेन्द्र यादवले राजेन्द्र महतोलाई सोधेको स्पष्टीकरणमा भने भने पार्टी निर्णयविपरीत ओलीको संसद् विघटनलाई समर्थन गरेकोदेखि आफूलाई संसदीय दलको नेता बनाएकोमा समेत आपत्ति जनाएको छ।

हेर्नुस् पत्र:

प्रकाशित मिति: : 2021-05-26 17:20:00

प्रतिकृया दिनुहोस्