पूर्वक्रिकेटरद्वारा अमेरिकामा ‘नेपाली राइनेज अल–स्टार्स’ क्लब स्थापना

अमेरिकामा बसोबास गरिरहेका राष्ट्रिय क्रिकेटरसहितको समुहले ‘नेपाली राइनोज अल-स्टार्स’ क्लब स्थापना गरेका छन्।

क्लबमा पूर्वराष्ट्रिय क्रिकेटर कनिस्क चौगाईं कप्तान छन् भने टिम व्यवस्थापकमा अर्का पूर्वराष्ट्रिय क्रिकेटर बरदान चालिसे, आशिक लामा र सन्जय शर्मा रहेका छन्।

पूर्वराष्ट्रिय क्रिकेटर बन्टु बटाजु र अनुनय बस्न्यात व्यवस्थापन निर्देशकको भूमिकामा छन्।

अमेरिकामा क्रिकेट गतिविधिमा संलग्न हुने तथा नेपाली युवा क्रिकेटहरुको प्रवर्द्धन गर्ने उद्देश्यका साथ क्लब स्थापना गरिएको टिम व्यवस्थापक बरदान चालिसेले बताए।

यसअघि नेपाली राइनोज क्लबले सन् २०१६ मा अमेरिकाको टु९एक्स क्रिकेट प्रतियोगिता जित्न सफल भएको थियो।

तत्कालिन राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्कासहित वर्तमान कप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, बसन्त रेग्मी, सुबास खकुरेल, सोमपाल कामी, पृथु बास्कोटा र सिद्धान्त लोहनीले क्लबको प्रतिनिधित्व गरेका थिए।

क्लबले अमेरिकाको डलास प्रिमियर लिग, युएस ओपन जस्ता प्रतियोगितामा सहभागिता जनाइसकेको छ।

क्लबले नेपाली क्रिकेटको सहयोगार्थ आर्थिक सहयोग समेत गरेको थियो। सो कार्यलाई अल स्टार्सले पनि निरन्तरता दिने चालिसेले बताए।

क्लबको स्थापनासँगै राष्ट्रिय क्रिकेटर सन्दिप लामिछानेले सुरु गरेको कोभिड-१९ नियन्त्रणको लागि आर्थिक अभियानको लागि नेपाली राइनोज अल-स्टार्स’ क्लबले १ हजार डलर आर्थिक सहयोग गर्ने भएको छ। सन्दिपले व्यक्तिगत ३ लाख सहयोग गर्दै अभियान सुरु गरेका हुन्।

प्रकाशित मिति: : 2021-05-26 12:48:00

प्रतिकृया दिनुहोस्