सिन्धु घाँटी सभ्यताको व्यवस्थित खोजी तथा अनुसन्धानको काम हुँदा भारतीय पुरातत्व विभागका महानिर्देशक थिए– जोन मार्सल। मोहनजोदडोको एल एरियामा अवस्थित सभा भवनको बनावटलाई लिएर उनले बौद्ध चैत्यजस्तो बताएका थिए। जुन चैत्य जहाँ बौद्ध भिक्षुहरू लामो पंक्ति बनाएर ध्यान गर्दछन्।
सिन्धुघाँटी सभ्यताका हडप्पा तथा मोहनजोदडो नगरलाई हेर्दा त्यहाँ बसोबासको क्षेत्र तथा धार्मिक क्षेत्र छुट्टाछुट्टै अवस्थित रहेको पाउँछौं। कपिलवस्तुको बनावटलाई हेर्ने हो भने पनि हामी यस्तै पाउन सक्छौं। बुद्धको घर गनवरिया क्षेत्रमा थियो भने पिपरहवामा धार्मिक क्षेत्र। जस्लाई पुरातत्वविद्हरूले स्तूपक्षेत्र बताएका थिए।
सिन्धु घाँटी सभ्यताबाट प्राप्त पीपलको पातको चिन्ह र गौतम बुद्धले पीपलको बोटमुनि बुद्धत्व प्राप्त गर्नु संयोग मात्र हुन सक्दैन। धम्मचक्रको स्वरूप, स्वस्तिक चिन्ह, मूर्तिको पहिरन तथा प्राप्त लिपिसमेत बौद्ध सभ्यतासँग मिलजुल देख्न सकिन्छ। यसकारण सिन्धुघाँटी सभ्यता बौद्ध सभ्यता थियो भन्न सकिन्छ। अब प्रश्न खडा हुन सक्छ कि गौतम बुद्धको काल २६०० वर्षयता मात्र मानिन्छ। तर सिन्धु सभ्यता ५००० वर्ष अघिको मानिन्छ। गौतम बुद्धभन्दा अघिको काल कसरी बौद्ध सभ्यता भयो ? यो लेख यसैमा केन्द्रित रहेको छ।
२८ बुद्ध को थिए ?
गौतम बुद्ध बुद्ध धम्मका संस्थापक थिएनन् एक प्रवर्तक मात्र थिए भन्ने आधार नै २८ बुद्ध परम्परा हो। स्रमण परम्पराअन्तर्गत बौद्ध तथा जैन मतलाई प्रमुख मानिन्छ। जसरी जैन मतमा २४ तीर्थकारोंको मान्यता छ। त्यसरी नै बौद्ध मतमा २८ बुद्धको मान्यता छ।
आठौं शताब्दीको अन्त्यतिरबाट बाह्रौं शताब्दीसम्म लगभग बौद्ध सभ्यता क्षतविक्षत् पारिएको अवस्था भेटिन्छ भारतवर्षमा। बाह्रौं शताब्दीमा नालन्दा विश्वविद्यालय जलाइसकेपछि त बौद्ध ग्रन्थहरू पनि नामेट गराइए।
त्यसपछि अतिक्रमणको सिलसिला झन्डै १९औं शताब्दीसम्म रफ्तारमा भएको देखिन्छ। अंग्रेजहरूको उपनिवेश पछि मात्र फेरि खोज तथा अनुसन्धान श्रृंखला अघि बढेको देखिन्छ। यसबीचमा जति पनि इतिहासकार देखा परेका थिए– ती प्रायः सबैले बौद्ध सभ्यताको नजरअन्दाज गरेको देखिन्छ। यसको शिकार २८ बुद्ध परम्परामाथि पनि परेको देखिन्छ। र यो हकिगतभन्दा बढी मान्यताको रूपमा बढाइयो÷पढाइयो। तर पछिल्ला खोज तथा अनुसन्धानहरूले २८ बुद्धको पुष्ट्याई हँुदै गइरहेको छ। ती नामावली यसप्रकार छन्ः
तणहंकर, मेधंकर, शरणंकर, दिपंकर, कोदन्ना, मम्गल, सुमन, रेवत, सोभित, अनोमादस्सी, पदुमा, नारद, पदुमुत्तारा, सुमेधा, सुजाता, पियदशी, अत्थादशी, धम्मदशी, सिद्धात्थ, तिस्सा, फुस्सा, विपस्सी, सीखी, बेस्सभु, ककुसन्ध, कोणागमन, कस्सप र गौतम।
तथ्यप्रमाण
विश्वप्रसिद्ध भाषा वैज्ञानिक प्रा.डा. राजेन्द्रप्रसाद सिंहका दुई पुस्तक ‘खोए हुई बुद्धकी खोज’ र ‘प्राचीन भारतके बौद्ध इतिहास’ प्रकाशित छन्। उहाँका अनुसार यदि एक बुद्धको काल औसत ५० वर्ष मात्र मान्ने हो भने पनि २८ बुद्धको १४०० वर्षकाल हुन्छ। यदि गौतम बुद्धको २६०० वर्षअघिको कालबाट १४०० वर्ष जोड्ने हो भने हामी सिन्धु घाँटीको सभ्यताको कालसम्म सजिलै पुग्न सक्छौं। यो तथ्य सामान्य लागे पनि निकै वैज्ञानिक देखिन्छ।
विपस्सी बुद्ध– जसको नामबाट बौद्ध सभ्यतामा विपस्सनाको प्रचलन चलेको थियो। विपस्सी बुद्धको पहिलो लिखित प्रमाण भरहुतको स्तूपमा भेटिएको थियो। जहाँ ‘भगवतो विपस्सनो बोधि’ लेखिएको छ। विपस्सी बुद्धको दोस्रो प्रमाण साँची स्तूपमा भेटिन्छ। साँची स्तूपमा सप्तबुद्धको प्रतीकात्मक चिन्ह अंकित छ। सबैभन्दा दायाँ गौतम बुद्ध र सबैभन्दा बायाँ विपस्सी बुद्ध। चिनी यात्री फाहियानको यात्रावृतान्तमा पनि अन्य बुद्धहरूको चर्चा पाइन्छ। उनी भारत आउँदा विपस्सी बुद्ध बितेको १३०० वर्ष भइसकेको थियो।
त्यसैले विपस्सी बुद्धको स्मारक उनले देख्न पाएनन्। तर गौतम बुद्ध अघिका तीन बुद्ध– ककुसंध, कोणागमन र कस्सपका स्मारक भने देखेका थिए। फाहियानको यात्रा वृत्तान्तमा कस्सप बुद्धको स्मृतिस्थल श्रावस्तीको पश्चिमतिर र ककुसंध बुद्धको स्मृतिस्थल श्रावस्तीको दक्षिण–पश्चिमतिर देखेको उल्लेख गरेका छन्।
सप्तबुद्धको अर्को प्रमाण एलोराको गुफा संख्या १२ मा पाइन्छ। सम्राट अशोकको निग्लिवा अभिलेखमा आफ्नो राज्याभिषेकको १४औं वर्षको अवसरमा निगाली गाउँ गएर कोणागमन (कनकमुनि) बुद्धको स्तूपको मर्मतसम्भार गरेको उल्लेख छ। कोणागमन बुद्ध गौतम बुद्धभन्दा अलग र पहिलेका थिए।
यसबाट के बुझिन्छ भने सम्राट अशोकभन्दा अघि पनि स्तूप परम्परा थियो। भरहूत स्तूपमा ककुसंध र कस्सप बुद्धको नाम पनि अंकित छ। जहाँ ‘भगवतो ककुसंध बोधि’ र ‘भगवतो कस्सप बोधि’ लेखिएको छ। नेपालको गोटिहवामा ककुसंध बुद्धको स्मारक रहनु अर्को प्रमाण हो। इतिहासकारहरू सम्राट अशोक ककुसंध बुद्धको स्मारकस्थलमा आएको र उनको स्मृतिमा स्तम्भ खडा गरेको बताउँछन्।
बौद्ध मत
बोधिसत्व प्राप्त व्यक्तिलाई बौद्ध मतअनुसार बुद्ध मान्ने गरिन्छ। गौतम बुद्धअघिका बोधिवृक्षको विवरणमा दिपंकरदेखि सुरु भएर कस्सप बुद्धमा आएर टुंगिन्छ। दिपंकर बुद्धभन्दा अघिका तणहंकर, मेधंकर र शरणंकरलाई बोधिसत्व प्राप्त भएको थिएन भन्ने गरिन्छ। त्यसकारण बोधिवृक्षमा गणना गरिँदैन। भविष्यमा जन्मने बुद्धको समेत बौद्ध मतमा नामाकरण गरिएको छ– मैत्रेयका रूपमा।
उपसंहार
संस्थापक र प्रवर्तकमा फरक छ भन्ने कुरा इतिहासकारहरूले नबुझ्नु प्रा.डा. राजेन्द्रप्रसाद सिंह आश्चर्यको विषय मान्नुहुन्छ। गौतम बुद्ध बुद्ध धम्मका एकजना प्रवर्तक मात्र थिए न कि संस्थापक। गौतम बुद्धभन्दा अघि पनि बुद्ध थिए।
सिन्धुघाँटी सभ्यता पूर्णरूपमा बौद्ध सभ्यता थियो र त्यसपछिका सभ्यता पनि बौद्ध सभ्यता नै थिए। जुन सभ्यताभित्र तक्षशीला देखि नालन्दाजस्ता विश्वविद्यालय खडा भएको थियो। जहाँबाट विश्वभरका नागरिकहरू शिक्षा आर्जन गरेर फर्किन्थे। गौतम बुद्धको बुवा तथा ससुरा पनि बौद्ध अर्थात् स्रमण परम्पराकै थिए।
गौतम बुद्धको ससुराको नाम सुप्पबुद्ध थियो। सुप्पबुद्ध बौद्ध नाम हो। इतिहासकार सिंहवर्द्धन सिंहका अनुसार ककुसन्ध बुद्धको समय ई.पू. ३१०१ अर्थात् सिन्धुघाँटी सभ्यताको वरिपरि रहेको थियो। इतिहासकार एस.के. विश्वासले सिन्धु घाँटीबाट प्राप्त एक मूर्तिको वस्त्रविन्यास गौतम बुद्धको जस्तै भएको उल्लेख गर्दै सिन्धुघाँटीबाट प्राप्त मूर्ति पशुपतिको नभई ककुसन्ध बुद्धको भएको बताएका छन्।
तमाम तथ्य र प्रमाणले भन्छ– बौद्ध सभ्यता हाम्रो सनातन सभ्यता हो। सिन्धुघाँटी सभ्यता बौद्ध सभ्यता हो। सत्यलाई स्वीकारौं र बौद्ध सम्भ्यतामा गर्भ गरौं। नमो बुद्धाय।
लेखक नेपाली जनता दलका वरिष्ठ उपाध्यक्ष हुन्।