कहाँ हराए तिर्खा मेट्ने ढुङ्गेधारा, ओत लाग्ने धर्मशाला अनि शीतल दिने पीपल–चौतारा ?

शिलापत्र

काठमाडौँ

 निमेन्द्र शाही

भारी बोकेर उकालो चढ्दा तिर्खा मेटाउने ढुङ्गेधारा । बाटोमा थकाइ मार्ने पीपल–चौतारा । झरीमा ओत लाग्न अनि रातमा बास पाइने धर्मशाला । 'हाम्रा बाजेबराजुको दैनिकीसँग जोडिएका यी सुविधा हिजोआज एकादेशको कथाजस्तै लाग्छ’, बुढीनन्दा क्याम्पसका क्याम्पस प्रमुख अनोज गिरीले भने, 'हामी दिपाई जाँदा बाटामा होटल पसल थिएनन् । घरबाट कपडामा रोटी र नुनखुर्सानी पोको पारेर हिन्थ्यौँ । बाटोमा ढुङ्गेधारा भेटेपछि डोकाेबाट रोटीको पोको निकालेर खान्थ्याैँ । अँजुलीमा पानी भरेर घटघट पिउँथ्याैँ । आज त्याे सपनाजस्तै लाग्छ । न थकाई लाग्दा बस्ने पीपल–चौतारा छन्, न ढुङ्गेधारा नै ।'

प्रशस्त होटल खुलेपछि अछामको साफेबगरदेखि बाजुरा, मुगु र हुम्ला जाने बाटोमा बनाइएका पुराना धर्मशाला धेरै भत्किसके । बस्ने चौताराका ढुङ्गा नजिककाले लगिसके । डाेजरले खनेर ढुङ्गेधाराका मुहान पनि सुकिसके । 

नुन, तेल ल्याउन झुलाघाट जाने बाटो अहिलेको सडकभन्दा फराकिलो थियो । 'बास बस्ने ठाउँमा धर्मशाला, थकाई मेटाउने ठाउँमा चौतारा र प्यास मेटाउने ठाउँमा कुवा र ढुङ्गेधारा मैले पनि प्रयोग गरेको हुँ । अहिलेका केटाकेटीलाई त्यो सुनाउँदा पत्याउँदैनन्’, यस क्षेत्रकाे इतिहासबारे जानकार जहरसिंह थापाले भने, ‘गाउँमा सडक खनियो । डाँडाहरू भत्काइयाे । पुर्खाका चीज पनि मेटिए । त्यसको पनि संरक्षण गरेको भए केही बिग्रने थिएन । बरु आउने पुस्ताका लागि इतिहासका प्रमाण त हुन्थे ।’

प्रकाशित मिति: : 2021-05-24 14:49:00

प्रतिकृया दिनुहोस्