अफगान सेनाको कारबाहीमा छ जना लडाकूको मृत्यु

Media Mission Nepal
Media Mission Nepal

अफगान सेनाले पूर्वी लोगार प्रान्तमा गरेको हवाई आक्रमणमा कम्तीमा छ जना तालिबानी लडाकूको मृत्यु भएको छ।

सेनाले गरेको उक्त आक्रमणमा अरु चार जना घाइते भएको अफगान रक्षा मन्त्रालयले पुष्टि गरेको छ। सेनाले जारी गरेको विज्ञप्तिमा राजधानी काबुलभन्दा करिब ६० किलोमिटर दक्षिणका मोहम्मद आघा र बाराकी बाराक जिल्लामा अफगान वायुसेनाले शनिबार आक्रमण गरेको र त्यसक्रममा स्थानीय तालिबान नेताको पनि मृत्यु भएको उल्लेख छ।

तालिबान लडाकू लुकेर बसेको भरपर्दो सूचनाका आधारमा हवाई आक्रमण गरिएको र त्यसबाट कोही पनि निर्दोश व्यक्ति हताहत नभएको सेनाले दाबी गरेको छ। अफगानी तालिबान समूहले राजधानी र प्रमुख शहर बाहिरका जिल्लामा पछिल्लो पटक हिंसात्मक भिडन्तहरु जारी राखेका छन्।

पछिल्ला विवरण अनुसार अफगानिस्तानका ४०७ जिल्लामध्ये १५ वटामा तालिबानको नियन्त्रण छ भने ४० वटा जिल्लालाई तालिबानले नियन्त्रण लिने प्रयास गरिरहेको छ।

संयुक्तराज्य अमेरिका र नेटोका फौजले अफगानिस्तान छाड्नै लाग्दा अफगानिस्तानभित्र हिंसाका घटनामा पुनः बढ्न थालेका छन्।

प्रकाशित मिति: : 2021-05-23 15:37:00

प्रतिकृया दिनुहोस्