सुन्दर खनाल
केपी ओलीले एउटा विशेष टास्क पूरा गरेका छन्, विदेशीहरुको काखमा राखेर नेपाली लोकतन्त्रको टाउको खोल्ने। अब यो फुटाइएको टाउको उनकी राजनीतिक यार, कथित राष्ट्रपति विद्या भण्डारीले हिजो मध्यरात घोषणा गरेअनुसार कार्तिक–मंसीरमै चुनाव गरेर सिलाइनेवाला देखिदैन। किनकी गलत नजिरहरुले राजनीतिक व्यवस्थामा पार्ने असर मौसमी रुघाखोकी लागेको जस्तो होइन। अर्को कुरो, यस्तो तालले चुनाव पनि हुँदैन।
अब ओलीले जे पनि गर्न पाउने भए, राज्यका संयन्त्रहरु अझ कब्जा गर्दै जाने भए, भ्रष्टाचारका चाङ लगाएर विशाल पूँजी संग्रहित गर्न सक्ने भए, आलोचकहरुलाई ठेगान लगाउन कानून–सुरक्षा निकायको हदैसम्म दुरुपयोग गर्ने भए, मिडियालाई झुटा मुद्दा–जेल–जरिवाना लादेर निरीह पार्न सक्ने भए। यी सारा कृत्य गर्दैरहँदा उनका लागि सबैभन्दा ठूलो बहाना कोभिड १९ महामारी बन्ने भयो–चुनाव सार्दै जान। त्यसै पनि अधकल्चो संघीयता, कचपल्टेको समावेशीता, आपराधिक उग्रपन्थ, नेपाली समाजका कमजोरीहरुमा खेलेर गरिन खोजिएका साँस्कृतिक अतिक्रमण, पहिचान आन्दोलनको आवरणमा उब्जेका कुण्ठाले वृहतर् लोकतान्त्रिक रुपान्तरण प्रभावित थियो। अब ओलीले गहिरियाउँदै लाने भ्याकुममा तिनको उपचार हुन सक्दैन नै ।समस्या झन झन बल्झदै जाने भो, नेपालको राजनीतिक–आर्थिक–सामाजिक परिदृश्य झन् अध्यारो र पीडादायी बन्ने भो।
एक छिमलमा भन्दा मुलुक असाध्यै ‘अप्रेडिक्टेबल’ (अप्रत्याशित) समयमा छि¥यो। एउटा विमार, लहडी, दम्भी शासकका हातमा सारा राज्य संयन्त्र वन्धक बन्न तयार गराइयो। सर्वोच्च अदालतदेखि सुरक्षा निकायसम्म पछिल्लो घटनाक्रमसँग सहमत गराइएका छन् भन्ने शंकालाई प्रधानमन्त्रीका अधम व्यवहार र त्यसमा राष्ट्रपतिको जघन्य सम्मतिले पुट दिएको छ।
जनता सडकमा आउँ, कोरोना छ। कोरोनाको पर्वाह नगरे ओलीसँग जनादेशलाई माध्यम बनाएर लुटेको शक्ति छ। पुस ५ पछाडि र अहिलेको स्थिति फरक छ। एकचोटी लोकलाजका कारण सच्चिएको विषयलाई ओलीले उही आड, उही चेष्टा र उही दम्भका साथ उधिनेका छन्। उनले शल्यक्रिया गरिएको घाउको धागोलाई फेरि उधारेका छन्। उनीमा अहिले अपराधवृति उत्कर्षमा सवार छ। उनले जनतालाई झन हानी पु¥याउन सक्छन्।
ओली स्वयम् अधम राजनीतिक स्कुलिङबाट उदाएका राजनीतिक पात्र हुन्। अढाइ दशक पहिले असमान महाकाली सन्धि पारित गराउन उनले लिएको ठेकदारीदेखिको ट्रयाक रेडर्क, रचनात्मक राजनीतिक परिवर्तनप्रति उनले देखाउँदै आएको अविश्वास र सत्तामा जानका निम्ति अर्चेको नक्कली राष्ट्रवाद–यी सबै उनका राजनीतिक स्कुलिङका प्रमाणपत्रहरु हुन्। यिनैका आधारमा उनले पछिल्लो समय नेकपा एमाले नामक कम्युनिष्ट नामी एउटा राजनीतिक उद्योग कब्जा गर्न सफल भए, जसको तलदेखि माथिसम्म ठूलो कार्यकर्तारुपी मजदुर पंक्ति छ, जो विनाकाम विभिन्न रुपले लाभान्वित हुने एउटा स्वचालित लयमा आवद्ध छन्।