एघार लाख क्युबालीले आफ्नै देशमा निर्मित खोप लगाए

BBC
BBC

क्यारेबियन राष्ट्र क्युबाले कोरोना भाइरसविरुद्ध आफैंले विकास गरेको खोप ११ लाखभन्दा बढी क्युबालीलाई लगाएको छ। 

क्युबाका एक जना बरिष्ट अधिकारीले ११ लाख भन्दा बढी व्यक्तिले कम्तीमा एक डोज खोप लगाएको बिहीबार जानकारी दिए। 

स्वास्थ्य मन्त्रालयका विज्ञान तथा प्रविधि सम्बन्धी निर्देशक एलिएना मोरालेसले कोभिड–१९ विरुद्धको लडाइँमा खोप एउटा अंश भए पनि अरु धेरै काम गर्न बाँकी रहेको बताए। 

क्युबामा बिहीबार एकै दिन एक हजार २५२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टी हुनुका साथै छ जनाको मृत्यु भएको थियो। क्युबामा हालसम्म एक लाख २९ हजार व्यक्ति कोभिड–१९ बाट संक्रमित भएका र त्यसमध्ये ८४० जनाको मृत्यु भएको छ। 

क्युबाले हाल कोभिड–१९ विरुद्ध पाँच किसिमका खोपहरु – सोबराना १, सोबराना २, अब्दला, माम्बिसा र सोबराना प्लस– को अध्ययन गरिरहेको जनाएको छ। 

यसैबीच, क्युबामै विकास गरिएको खोप लगाएका हजारौं व्यक्तिले खोप बारेमा आफ्ना धारणा सामाजिक सञ्जालमा राख्न थालेका छन्।

राजधानी हवाना निवासी जोइला रोड्रिगेजले खोपका कारण दैनिक संक्रमणमा कमी आउने र अस्पताल भर्ना हुने दरमा कमी आउने विश्वास व्यक्त गरेका छन्। 

क्युबा सरकारले यसै वर्षको अन्त्य सम्ममा सम्पूर्ण क्युबालीलाई खोप लगाइसक्ने योजना अघि सारेको छ। क्युबामा करिब एक करोड १० लाख जनसंख्या छ। रासस 

प्रकाशित मिति: : 2021-05-21 14:42:00

प्रतिकृया दिनुहोस्