राष्ट्रियसभाको सदस्यका लागि भएको निर्वाचनमा नेकपा एमालेका आधिकारिक उम्मेदवार, माओवादी केन्द्रको कारबाहीमा परेर सदस्यता गुमाएका र, सर्वोच्च अदालतको आदेश अनुसार गृहमन्त्री पद गुमाएका रामबहादुर थापा ‘बादल’ लाई विपक्षी गठबन्धनका उम्मेदवार डा.खिमलाल देवकोटाले पराजित गरेपछि मुलुकको राजनीति पुनः तरङ्गित बनेको छ।
एकातिर कोभिडको दोस्रो लहरका कारण अक्सिजन र उपचारको अभावमा दिनहुँ सयौं जनताले ज्यान गुमाइरहेका छन्। गत सालको बन्दाबन्दीले दिएको चोट निको हुन नपाउँदै पछिल्लो पटकको बन्दाबन्दीले ज्याला–मजदूरी गरेर बिहान–साँझ छाक टार्ने मजदूरहरूको बिचल्ली भएको छ। भोक टार्ने विकल्प उनीहरूसँग केही छैन। साना बालबालिका कुपोषणको शिकार बनिरहेका छन्।
अर्कोतिर सरकार भने जनताको पीडाप्रति संवेदनशील बन्नुको सट्टा आफ्नो कुर्सी जोगाउनकै लागि एकपछि अर्को गैरजिम्मेवारपूर्ण निर्णय गरेर मुलुकलाई अन्धकार सुरुङ्गतर्फ धकेल्न केन्द्रित देखिनु मुलुककै लागि दुर्भाग्यपूर्ण अवस्था हो।
अहिलेको आवश्यकता सम्पूर्ण राजनीतिक शक्तिहरू एकजुट भएर कोरोना नियन्त्रण गर्ने अभियानमा लाग्नुपर्ने हो तर त्यसको विपरीत विपक्षी दलहरू निष्कर्षहीन नयाँ सरकार गठनको जोडघटाउमा लागेका छन् भने ओली सरकार नेपाली जनताको भोक, रोग र स्वास्थ्यप्रति बेखबर जस्तै छ। कुर्सी जोगाउने तानावाना बुन्नकै लागि बालुवाटार र शीतलनिवास ओहोरदोहोर गर्नु नै प्रधानमन्त्रीको दैनिकी रहेको छ।
शोक र भोकका कारण छट्पटाइरहेका जनताको दयनीय अवस्थाप्रति प्रधानमन्त्रीमा कुनै समवेदना देखिंदैन । आफूले असंवैधानिक तवरले विघटन गरेको संसद सर्वोच्च अदालतले ब्युँताइदिएपछि पुनः संसद विघटन गरेर मुलुकलाई निरंकुशतातर्फ धकेल्ने प्रयत्न ओलीको देखिन्छ ।