बेहाल ‘ईश्वर’को सिसिएमसी

आयोमेल

सृजना घिमिरे

कोरोना भाइरस महामारी नियन्त्रणका लागि गठित कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)का संयोजक हुन् उपप्रधानमन्त्री ईश्वर पोखरेल। साविक नेकपा एमाले र यसअघिको नेकपाभित्रको शक्ति समीकरणमा प्रधानमन्त्री केपी ओलीका सर्वनिकट पोखरेल लगातार उपप्रधानमन्त्री रहिरहँदा नेपाली जनतालाई कोभिडको मारबाट बचाउने सबैभन्दा ठूलो कार्यकारी भूमिकामा छन्। तर, उनी यो भूमिकाबाट प्रशंसित हुनुपर्नेमा एकपछि अर्को विवादमा मात्र मुछिँदै आएका छन्।

गत वर्ष महामारीको सुरुआतमै पहिलो लटको स्वास्थ्य सामग्री मगाउँदै गर्दा उनी विवादास्पद ओम्नी ग्रुपले गरेको घोटालामा नजिकबाट मुछिए। ओम्नीले वदमासी गरेको विषय स्वास्थ्य मन्त्रालयले स्वीकार गरि संघीय संसदको सार्वजनिक लेखा समितिबाट छानबीनको सिफारिस भइसक्दा पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कुनै चासो दिएको छैन। ओम्नी प्रकरणलगत्तै नेपाली सेनालाई संलग्न गराएर चीनबाट स्वास्थ्य सामग्री ल्याउँदा उनको उल्टै सेनासँगै सम्बन्ध बिग्रन पुग्यो र ओलीलाई उनलाई मन्त्रिमण्डल पुनर्गठनको मौका पारेर रक्षा मन्त्रालयबाट हटाए। तर, उपप्रधानमन्त्री पदचाहिँ कायम राखी आफ्नै मुकामका नियमित कामकाज हेर्ने गरी खटाए।

जनताको जिउधन बचाउने विहंगम जिम्मेवारीसहित प्रधानमन्त्रीकै छायाँ बनेर काम गर्न पाइरहेको अहिलेको नयाँ परिस्थितिमा पोखरेलको कार्यव्यवहारचाहिँ उस्तै छ। यसको प्रमाण हो, सिसिएमसीले अस्पतालहरुलाई अक्सिजन वितरण कोटा प्रणाली लागू गर्दा सृजित हाहाकार। अक्सिजन वितरणमा थुप्रै प्रश्न उठेपछि, अक्सिजन अभावले दर्जनौं संक्रमित दिनहुँ मृत्यु हुँदै जाँदा, यतिसम्मकि ठूला सरकारी अस्पतालमा कार्यरत डाक्टरहरुले नै सार्वजनिक रुपमा विलौना गर्न थाल्दामात्र बल्ल अक्सिजन वितरण स्वास्थ्य मन्त्रालयले नै सम्हाल्न थाल्यो। अहिले केही सहज भएको छ।

प्रकाशित मिति: : 2021-05-21 07:04:00

प्रतिकृया दिनुहोस्