कोरोनाको दोस्रो लहरका कारण भारत र नेपाल अहिले संकटपूर्ण अवस्थामा छन्। भारतमा देखिएको तेस्रो लहर नेपालमा पनि देखिइसकेको छ। आउने दिनहरु झन् कठिन हुने देखिएको छ।
जनता अक्सिजन नपाएर छट्पटिँदै अन्तिम सास फेरिरहेका छन्। जनता अकालमा मृत्युवरण गरिरहेको बेला मेरो सरकार चाहिँ राजनीतिको खेल खेलिरहेको छ।
दिनहुँ दुई सयभन्दा बढीको कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भइरहेको छ। यो सङ्ख्या अझै बढ्ने देखिएको छ तर मेरो सरकार मौन छ। यस्तो स्वास्थ्य सङ्कट र महामारीको बेला पनि आफ्नो अमूल्य समय सत्ता र कुर्सीमै खेर फालिरहेको छ।
हे सरकार ! अस्पतालमा मान्छेले शय्या नपाएर अक्सिजनको अभावमा आफ्नो अमूल्य ज्यान गुमाइरहेका छन्। तपाईंहरुलाई यो फोहोरी राजनीति गर्न यत्ति पनि लाज र घिन लाग्दैन ?
हे सरकार ! चीनबाट फैलिएको कोरोना भाइरसका कारण विश्व अहिले आक्रान्त छ तर चीन ढुक्कसँग बसेको छ– कोरोना महामारीलाई नियन्त्रणमा लिएर। उसले के-कस्तो गर्योल, त्यस्तै गर्न सकिन्न र? के उनीहरुले गरेका कुराबाट हामीले सिक्न सकिँदैन र, सरकार ?
हे सरकार ! कसरी हुन्छ कुर्सी जोगाउनभन्दा पनि मान्छे बचाउनतिर लाग्नुहोस्। चीन हाम्रो असल छिमेकी राष्ट्र हो। हामीलाई सधैँ सुख-दुखमा साथ दिन्छ। छिटोभन्दा छिटो चीनलगायत तेस्रो मुलुकबाट खोप, औषधि उपचारका सामग्री ल्याउनुपर्योा। जनता बचाउनुपर्यो्, होइन र?
छिमेकीले १५ दिनमै अत्याधिक सुविधा सम्पन्न कोरोना अस्पताल तयार पारेर आफ्ना प्यारा जनताको ज्यान बचाउन उद्घाटन गर्दा सोही दिन तिमीले कमिसनको लागि सेमिनार हलको उद्घाटन गर्न लाज लागेन ?
हे सरकार ! जनता बाँचे र भोट गर्न सक्षम भए भने पो यो फोहोरी राजनीति बच्ला र गरौला। यदि जनता नै भएनन् भने तिमीले गरेको राजनीतिको के काम?
हे सरकार ! लकडाउन गरेका छौँ भनेर मख्ख परेर किन बसिराखेको ? कहिले सडकपेटी सब्जीमण्डी हेरेका छौ– त्यसको पालना के–कति भइरहेको छ कि छैन ?
हे सरकार ! तिमीले त केही गर्न सक्दैनौ। कमसेकम अरुले सहयोग स्वरूपले पठाएको अक्सिजन र सिलिन्डर त व्यवस्थित तरिकाले बाँड्न सक्छौ? यदि सक्दैनौ भने सक्दिनँ भन।
कमसेकम गरीब जनताको आँशु देख्न नसकेर सहयोगी दाताहरुले गरेका सहयोगहरु पनि तिमीलाई कमिसन नआउने हुँदा लिँदैनौँ किन भन्छौ र आएका सामानहरू पनि हिनामिना किन गर्छौ?
हे सरकार ! ओमानबाट सिलिण्डर र चीनबाट अक्सिजन आयो। अरु कताबाट के-के आयो आयो र गयो। कता केही थाहा छैन र ?
हे सरकार ! अस्पतालमा अवस्था उस्तै छ। अक्सिजनको हाहाकार अहिलेसम्म पनि यथावत् नै छ। कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पनि बढेको बढ्यै छ। त्यतातिर ध्यान दिने होइन र?
हे सरकार ! अक्सिजन आयो रे? मन्त्री र सांसदहरुको घर–घरमा पुग्यो रे! तर तिमीलाई थाहा भयो कि नाइ, अक्सिजनको अभावमा छट्पटिइरहेका कोरोना संक्रमितले पाए कि नाई ?
हे सरकार ! शहरिया र टाठाबाठा मन्त्री, सांसदले त अक्सिजन पाए रे ! तिनीहरू आफ्नो टोल शहरमा गएर अक्सिजन बाँडे कि लुकाएर घरमै राखेका छन्, थाहा भयो कि नाई?
तर बिडम्बना, हे सरकार ! मजस्तै अति दुर्गम जुम्ला एवम् समस्त कर्णाली जनताका सोझा-साझा मन्त्री र संसद्ले त पक्कै पनि अक्सिजन पाएका छैनन् होला? पाए पनि त यो दुर्गमसम्म ल्याउने स्रोत–साधन र समन्वय भएको छैन होला ?
यदि अक्सिजन दुर्गमसम्म आईहाले भने पनि को–कतिले ज्यान गुमाइसकेपछि आइपुग्ने हो, त्यो आँकलन त मेरो सरकारलाई पनि त थाहा छैन होला नि?
हे सरकार ! म जुम्ली एवं समस्त कर्णालीको छोरा हुँ। मेरो भागको अक्सिजन समयमै पठाइदेऊ। मलाई अकालमै मर्नु छैन। बाँचेर देशको निम्ति धेरै राम्रो काम गर्नु छ। म बाँचे भने जुम्लामा पाइने जडिबटीहरू, डोल्पामा पाइने यार्चागुम्बा, हुम्लामा पाइने चौँरीगाईको ध्यू अनि जुम्लाको स्याउ, ओखर, रातो मार्सी चामल, सिमीको स्वादिलो दाल र राडीपाखी अनि तिला नदी र मुगुमा भएको रारा तालको चिसो पानी बोकेर दुःखकष्ट, आँधिबेरी सहँदै स्वर्गको बाटो कर्णाली राजमार्गको बाटो हुँदै सिहदरबारमै भेट्न आउँला !!!