ओहो ! सात बर्षको भाले 

 रैथाने अर्थात लोकल कुखुराको आयु कति वर्षको हुन्छ ? ठ्याक्कै यति बर्ष बाँच्छ होइन, ‘कहिले छिपिन्छ र बेच्ने वा काटि खाने’ भन्नेमै धेरैको ध्याउन्न हुने गरेको पाइन्छ। तर, तिलमाया मगर फरक छिन्। उनले ‘कहिलेसम्म बाँच्दो रहेछ’ भनेर साचि राखेको कुखुराको चल्लो यो बेला सात बर्षको भयो। छिप्पिनुसम्म छिप्पिएको छ, भाले। चरि हिँड्न सक्दैन, चारो दिंदा तिलमायाकै समिपमा लपेटिन्छ। ‘धेरैले किन्न खोजे बेचिन’ उनले भनिन्–जहिलेसम्म बाँच्छ, चारो खुवाएर स्यहार गरिरहन्छु।
पूर्वको पर्यटकीय स्थल भेडेटारमा होटल व्यवसाय गर्ने तिलमाया उक्त भालेलाई दुई वर्षको हुँदादेखि पालेको बताउछिन्। भेडेटारस्थित राजारानी मार्गको प्रस्थान बिन्दुमै रहेको तिलमाया होटलकी संचालिका उनले उक्त भाले परिवारको सदस्यकै रुपमा रहेको पनि बताइन्। भनिन्–‘यो भाले लक्षिनको पनि छ, पालेदेखि संकटको सामना गर्नु परेको छैन।’ उनका अनुसार कानेपोखरीको दलेलीबाट आफन्तले पठाइदिएको भाले अहिले सात वर्ष पुगेको हो। भालेलाई हालसम्म कुनै रोग व्याधि नलागेको र औषधोपचार गर्नु परेकोपनि छैन।

‘०७२ सालमै ल्याउदा नै करिब दुई वर्षको थियो, हिसाब गर्दा सात वर्ष त पुग्यो नै !’–उनले भनिन्। होटलमा आउनेले फोटो खिच्ने, मोलतोल गर्ने गरेपनि भाले बिक्री गर्ने कुरा कल्पनापनि नगरेको तिलमायाले सुनाइन्। एक वर्ष अघिसम्म ७ केजी तौलको भाले धेरै पाको भएको सुनाउदै हाल ४ किलोमा झरेको तिलमायाको कथन छ। भेडेटारकै सौभाग्य होटलका संचालक दीपक मगरले आफुले चार वर्षसम्मको देखेपनि सात वर्ष उमेरको कुखुराचाहि पहिलो पटक देखेको बताए। कतिपय मान्छेले ‘गुरु भाले’का रुपमा लामो समयसम्म पाल्ने गरेपनि यति लामो अवधिसम्म भालेको आयु रहनु र पालिनु नै अनौठो भएको मगरको भनाइ छ।
रैथाने प्रजातिका कुखुराको आयु सामान्यतयाः तीनदेखि दस वर्षसम्म रहने अध्ययनहरुले देखाएको छ। कुखुराको आयुमा वातावरण, रहनसहन,खानपिन, रोगव्याधि, अनुवांशिक गुणलगायतले प्रभाव पार्छ।

अध्ययन अनुसार अष्टेलियामा ‘मटिल्डा’ नाम गरेको एउटा कुखुरा १६ वर्षसम्म बाँचेको थियो। सन् १९९० मा कोरलिएको चल्लो ११ फेब्रअुरी २००६ सम्म बाँचेको थियो   संसारमा सबैभन्दा बढी समय बाँच्ने कुखुराको रुपमा मल्टिडाको आयु गिनिज बुक अफ वर्ल्ड रेकर्डमा उल्लेख छ।

प्रकाशित मिति: : 2021-05-19 19:10:00

प्रतिकृया दिनुहोस्