२०३३ सालमा बिपी कोइराला राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल फर्किने भएपछि काठमाडौंमा खेलाबैला मच्चियो।
बिपीलाई राख्ने ठाउँबारे सुरक्षा परिषद्को मिटिङ बस्यो। २०१७ सालमा सुन्दरीजलमा राखेको सेनाले हात उठायो। निजामतीले पनि ‘भद्रगोल जेलमा राख्न उपयुक्त हुँदैन’ भन्यो।
यतिबेला बिपीलाई महाराजगञ्जस्थित प्रहरी तालिम केन्द्रमा राख्ने प्रस्ताव नेपाल प्रहरीका तत्कालिन आइजीपी खड्गजित बरालले गरेका थिए।मिटिङमा सहमत जुर्याे। बिपी र गणेशमान सिंहलाई स–सम्मान पक्राउ गरी तालिम केन्द्र पुर्याइयाे।
वास्तवमा यी दुबै नेता खड्गजितका लागि नौलो थिएनन्। २००७ सालदेखि नै चिनजान थियो। त्यसैले दुबैतर्फ असहज भएन। गणेशमानले आफ्नो संस्मरणमा उल्लेख गरेका छन्, ‘बरालजी २००७ सालमा हाम्रो क्रान्तिको सहयोगी भएकोले सजिलो भयो।’
बिपी फर्किएको केही दिनपछि नै दरबारमा भेटघाटको कार्यक्रम बन्यो। खबर आयो–‘बिपीलाई लिएर आउनू।’ यतिबेला बिपी एक्लैलाई राती १० बजे दरबार पुर्याउने काम उनै खड्गजितले गरे। राजा वीरेन्द्र र बिपीबीच करिब १ घण्टा गफ भयो। खड्गजित बाहिरै बसे। फर्किने बेला बिपीले खड्गजितलाई भनेछन्, ‘तपाईंले प्रहरीमा धेरै उन्नति गर्नुभएछ।’
खड्गजितको सहज उत्तर थियो, ‘उन्नती होइन बिपीबाबु, जीविकाका लागि गरेको।’
दरबारबाट पुनः तालिम केन्द्र फर्किनेक्रममा बाटोमा यताउति हेर्दै बिपीले भनेछन्, ‘काठमाडौंमा धेरै घर बनेछन्, ठूला–ठूला।’
तालिम केन्द्र पुग्दा गणेशमान खाना कुरेर बसिरहेका थिए। बिपीले फेरि ठट्टा गर्दै भनेछन्, ‘तपाईं राजालाई सधैं गाली गर्नुहुन्थ्यो। राजा त गोरा, राम्रा रहेछन्। फेरि मैलेजस्तै पाइप तान्ने।’
यसपछि गणेशमान पड्किए, ‘मान्छे राम्रो भएर मात्र भएन। व्यवहार पनि असल हुनुपर्यो।’
वीरेन्द्रसँगको भेटपछि बिपी निकै आशावादी थिए। वीरेन्द्रले थप गफ गर्न चाहेको बिपी सुनाउँथे। भन्थे–‘मैले राजालाई राष्ट्रिय–अन्तर्राष्ट्रिय राजनीतिको पुरा डाइनामिक्स बताएको छु। राजा राम्रा रहेछन्। कुरा मजाले सुन्दा रहेछन्।’
तालिम केन्द्रमै हुँदा बिपीले एकदिन खड्गजितलाई भनेछन्, ‘हेर्नुस् न, टाउको एक्कासि झनन्न हुन्छ। के भएको हो, कुन्नि?’ त्यतिबेला बिपीको सम्पूर्ण गतिविधि र स्वास्थ्यको जानकारी दरबारमा पु¥याउनुपथ्र्यो। खड्गजितले जाहेरी गरे। दरबारबाट ‘उपचार गराउनू’ भन्ने आदेश आयो। सुरुमा पुलिसकै डाक्टर बोलाएर जँचाउने काम भयो। चिकित्सकले ‘चिसो लागेको छ’ भन्दै रुघाको औषधि दिए। त्यसले केही असर गरेन।
बिपीले खड्गजितसँग फेरि भने, ‘झन् बढी च्याप्यो मलाई।’ उनले फेरि दरबारमा जाहेरी गरे।
दरबारले ‘तुरुन्त विशेषज्ञ सर्जन बोलाएर चेक गर्नू’ भन्ने आदेश दियो। खड्गजित आफै सर्जन डाक्न हिँडे। तर, बिपीको उपचारमा संलग्न भए ‘जागिर जान्छ कि भन्ने डरले’ कोही आउन मानेनन्। कतिले त घर जाँदा ‘छैन भन्देऊ’ पनि भने। खड्गजितले एक विशेषज्ञ डाक्टरलाई जोरजबरजस्ती उठाएर ल्याउनु परेको थियो।
जाँचपछि बिपीको घाँटीमा क्यान्सर भएको शंका भयो। उपचारका लागि कि भारत, नभए अमेरिका लानुपर्ने चिकित्सकले राय दिए। यसमा अमेरिका उपयुक्त हुन्छ भन्ने सुझाव आयो। खड्गजितले फेरि रिपोर्ट दरबारमा जाहेरी गरे। दरबारबाट अमेरिका उपचार गर्न जानदिने स्विकृति भयो।
रातारात पासपोर्ट बन्यो। बिपी २०३४ सालमा बन्दी अवस्थामै उपचारका लागि अमेरिका लागे। तर, फर्किने बेला भारतको नयाँ दिल्लीमा एकरात बसिदिए। यसले खड्गजितलाई पर्नु फसाद पर्यो। विरोधीले खड्गजितको विषयमा भा–नभा कुरा लगाइदिए– ‘खड्गजितले मिलेमतो गरेर बिपीलाई अमेरिका पठायो। यो त कट्टर कांग्रेसी हो।’
यसपछि खड्गजितको सात पुस्ताको खोजीनीति भयो। तर, बिपी फर्किएपछि सबै कुरा ढुस् भयो। २०१७ सालमा राजा महेन्द्रले प्रजातान्त्रिक व्यवस्था ‘कू’ गर्दा पनि खड्गजितलाई यस्तै अफ्ठेरो परेको थियो। उनलाई नरुचाउने केही तत्वहरूले राजा महेन्द्रलाई कुरा लगाएछन्–‘सरकार, हजुरले देश सुहाउँदो व्यवस्था लागू गर्न लागिबक्सेको छ। तर, खबरदार हुनू है पुलिसहरूसँग। यिनीहरूले गडबड गर्लान्। सबै कांग्रेसी हुन्।’
२००७ सालमा नेपालमा प्रजातन्त्र स्थापनाका लागि सशस्त्र युद्धमा होमिएको रक्षा दल (प्रायः पूर्वगोर्खा आर्मीका जवान) लाई पछि पुलिसमा भर्ती गरिएको थियो। यही कुरा सुनेर २०१८ सालमा जम्मा ८ हजार प्रहरीमध्ये ३ हजारलाई नेपाल आर्मीअन्तर्गत होम गार्डमा लगिएको थियो।
बिपीको निधन हुँदा खड्गजित बर्मामा राजदूत थिए। २००७ सालको क्रान्ति अगाडी खड्गजित बराल पूर्वप्रधानमन्त्री केआई सिंह (जसले सिंहदरबार कब्जा गर्ने असफल प्रयास गरेका थिए) ले सम्हालेको मध्यपश्चिम खण्ड (भैरहवा र परासीको मोर्चा) मा लडिरहेका थिए।
बिपी उनीहरूलाई भेट्न २–३ पल्ट आएका थिए। त्यतिबेलै बिपी विधार्थीलाई भन्थे, ‘हामी जित्छौं। नेपालमा प्रजातन्त्र चाँडै आउँछ। त्यसपछि तिमीहरू आफ्नो पढाइ जारी राख्नू।’
वास्तवमा बिपीसँग खड्गजितको पहिलो भेट नै भारत स्वतन्त्रता आन्दोलनताका भएको हो। त्यतिबेला खड्गजित गोरखपुरमा पढ्दै थिए। सुभाषचन्द्र बोसको ‘आजाद हिन्द सेना’ का दुई नेपाली कमान्डर दुर्गा मल्ल र दलबहादुर थापा पक्राउ परेको विरोधमा जुलुस निकाल्दा समातिएका थिए। ८ दिन थुनामा बस्नुपर्याे। त्यतिबेला भारत स्वतन्त्रता आन्दोलनको अगुवाई गर्दै बिपी, मधुकर डिगे, राम पाण्डेजस्ता समाजवादी नेता गोरखपुर आइपुगेका थिए। कसैले बिपीलाई भनिदिएछ– ‘नेपालीहरू पनि थुनामा परेका छन्।’
बिपी उनीहरूलाई भेट्न थुनाघरमै पुगे। र, उनीहरूलाई आश्वासन दिँदै भनेछन्, ‘तपाईंहरूले यसपछि आफ्नो पढाइलाई निरन्तरता दिनुपर्छ।’
सन् १९५० मा बिहारको बैरगनियामा राणा शासनविरूद्ध सशस्त्र आन्दोलन घोषणा हुँदा मध्यपश्चिमको प्रतिनिधिको हैसियतले खड्गजित बरालले पनि भाग लिएका थिए। उनीहरूको मोर्चाको कमाण्डर भने केआई सिंह थिए।
सम्मेलनमा कांग्रेसका सबै नेता उपस्थित थिए। तर, बिपीको व्यक्तित्व बेजोड थियो। चामत्कारिक। उनकै व्यक्तित्वका कारण नेपालको स्वतन्त्रता आन्दोलनमा ऐक्यबद्धता जनाउन भारतका दुई दिग्गत समाजवादी नेता डा. राममनोहर लोहिया र शिबनलाल सक्सेना एक पल्ट गोरखपुर आइपुगेका थिए।
शिबनलाललाई त मेउडीमा गस्तीमा आएको राणाको फौजले गोलीसमेत हानेको थियो। नेपालको क्रान्तिमा कुनै भारतीयले पहिलो रगत बगाएको छ भने ती शिबनलाल नै हुन्। उनी पछि बिहारको मुख्य मन्त्री भए।
राजा, राणा र कांग्रेसबीच २००७ सालमा दिल्लीमा सम्झौंता हुँदा डा. केआइ सिंहको कमाण्डमा रहेका खड्गजितलगायतले विरोध जनाएका थिए। उनीहरूले यसलाई ‘धोका’ को संज्ञा दिए। बैरगनिया घोषणाबिपरित भयो भन्दै हतियार नबिसाउने उद्घोष गरेका थिए।
दिल्ली सम्झौताको दुई दिनपछि मोहन शमशेर राणाकै प्रधानमन्त्रीत्वमा कांग्रेस सरकारमा गयो। उनीहरूलाई निःशस्त्र पार्न सन् १९५० को सन्धिअनुसार सरकारले भारतबाट सैनिक सहयोग माग्यो। भारतले ‘मरहठ्ठा बटालियन’ पठायो।
खड्गजितहरूलाई चारैतिरबाट घेरा हालेर पहिले निःशस्त्र पार्ने काम भयो। यसपछि डेढ सयको हाराहारीमा रहेका खड्गजितलगायत अन्य नेपाली क्रन्तिकारीलाई भारतीय सेनाले हातखुट्टा बाँधेर ३० किलोमिटर हिँडाउँदै मेउडीबाट भैरहवा पुर्यायो।
त्यतिबेला खड्गजितहरूलाई पानी पनि पिउन दिइएको थिएन। बाटोभरि उनीहरूले कुटाइ मात्र खाए। तीन महिना कैद बसेपछि काठमाडौंबाट खबर आयो– ‘दिल्ली सम्झौंता भइसक्यो। विद्रोह गरेका कारण थुन्नुपरेको हो। अब लडाकुलाई ट्रिब्युनल कोर्टमा ट्रायलमा राखिनेछ। विधार्थीलाई छोडिनेछ।’
पक्राउ परेकाहरूमा खड्गजितलगायत ३५ जना विधार्थी थिए। त्यसैले उनीहरू छुटे। यसपछि खड्गजितको बिपीसँग एकैचोटी भेट २०१६ सालमा भयो। जतिबेला नेपालको प्रधानमन्त्री बिपी कोइराला थिए भने भारतीय प्रधानमन्त्री जवहारलाल नेहरू नेपाल भ्रमणमा आएका थिए।
यसबीच खड्गजित एमए पास गरेर पुलिसमा भर्ती भइसकेका थिए। खड्गजित नेहरूको सम्पर्क अधिकारीको जिम्मेवारीमा त्यहाँ खटिएका थिए। नेहरूको सुरक्षामा खटिएको देखेपछि बिपीले खड्गजितलाई भनेछन्, ‘ए बरालजी त पुलिसमा आउनुभएछ।’
२०१३ सालमा नेपाल प्रहरीमा ‘ग्राजुएट’ बाट अफिसर दर्जामा भर्ना हुने पहिलो व्यक्ति बनेका यिनै क्रान्तिकारी पूर्व प्रहरी महानिरीक्षक बरालको बुधबार बिहान ९४ वर्षको उमेरमा निधन भयो।
(स्व. बरालसँग लेखकले सन् २०१० मा नागरिक पत्रिकामा लिएको अन्तर्वार्ताको आधारमा)
Very Happy to learn about some points of Nepalese history along with related to I G P Khaga jet Baral . A dynamic personality
नेपाल प्रहरीका युग पुरुष प्रहरी महानिरीक्षक (अ.प्रा.) खड्गजीत बराल सरको अमर आत्माले आफ्नो कर्म भुमी लाई छोडी महाप्रस्थान गरि स्वर्गवास गरेको यस दु:खद क्षणमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। वहाँको मार्ग दर्शनले सदा प्रहरी संगठनलाई सहि दिशातर्फ अघि बढ्न घचघचाइ रहने छ।🇳🇵🙏🙏🙏