रक्षकको मुखौटो पहिरिएका
भक्षक आतङ्ककारीहरू
आखामा सत्ताको भयानक
कालो पट्टी बाँधेर
देशको अपहरण गरिरहेकाे बेला
कैयौँ जिन्दगीहरू
निसासिएका छन्
बन्दुक र बारुदबाट
उठेका धुवाँभित्र...
कति जिन्दगीहरूलाई
कतिका परिवारहरूलाई
कतिका सपूतहरूलाई
चपाएर निलिसकेको छ
यो दुर्गन्धित धुवाँले...
म ती धुवाँभित्र
हजारौँ आकृतिहरू देख्छु
कसैको मुस्कुराएको अनुहार देख्छु
ऊ भन्दै छ,
"ए दिदी! मैले देशप्रतिको दायित्त्व पूरा गरेँ "
कसैको आँसु देख्छु
ऊ भन्दै छ,
"मेरो देशलाई सैनिक शासनको पैतालाबाट उकास है ! "
कसैको बलिदान देख्छु
ऊ भन्दै छ,
"हाम्रो बलिदान खेर नजाओस् "
कति वीरहरू देख्छु
उनीहरू भन्दैछन्,
"हाम्रा रगतका एक एक थोपाको मोल राख्नु है!"
अनि देख्छु
आमाको गर्भभित्र
ताता गोलीको धुवाँमा
लत्पत्तिएको त्यो अबोध शव
ऊ भन्दै छ,
"ए पापी हो! मेरो के दोष थियो र?"
आँखाभरि टिल्पिल-टिल्पिल आँसु भरेर म अगाडि बढ्दै जान्छु
अचानक अर्को प्रश्नले सताउन थाल्छ, हाम्रा किशन दाइ र मनमाया भाउजू
उनीहरू भन्दैछन्,
"ए बहिनी! के आँफ्नो मातृभूमि फर्केर आउनु नै हाम्रो ठूलो भुल थियो र? "
ए किशन दाइ!
ए मनमाया भाउजू!
कसरी भुलौँ
तिमी दुईका निर्दोष मुहारभरि
छरिएका बारुदका चोइटाहरू
कठै! ती बूढी बिरामी आमाको
छाती चिरिएर निस्किएको
कारूणिक चित्कार सुनेर
कति रोएका होलान्
ती आत्माहरू...
म चुपचाप
धुवाँभित्रका
प्रश्नहरूमा
ती आकृतिहरू हेरेर
मौन आँसु बगाइरहेकी छु यहाँ,
कहिले देखिएला देशको शान्त छवि!