अस्पतालबाट देश नियाल्दा...

श्याम मगर

कास्की 
Breaknlinks
Breaknlinks

विज्ञहरुले कोरोनाको दोस्रो लहर आउने चेतावनी दिन थालीसकेका थिए।

पहिलो लहरको बाछिटाले छ्यापीरहेकै थियो। फेरि, दोस्रो लहर किन आउनु परेको होला ? दोस्रो लहर आउने अनुमानले मात्रै पनि एक्लै तर्सिन थालेको थिएँ।

गाउँघरतिर ‘त्यसको त अनार पनि फर्केर हेर्न नपरोस्’ भन्छन् नि ! हो, ठ्याक्कै त्यस्तै।

कोरोना र यसले छाडेका पराकम्पलाई झेल्नै अप्ठ्यारो भैरहेको बेलामा फेरि, कोरोना फर्कि आउला भनेर हामी कसैले सायदै सोचेका थियौं। जे नहोस् भन्ने थियो। आखिर, त्यही नै भयो।

हेर्दाहेर्दै, संक्रमितको संख्या थपिन थाल्यो। अस्पतालका बेडहरु भरिन थाल्यो। यौटा, दुई वटा गर्दै निषेधाज्ञा सुरु भएका विज्ञप्तिहरु आउन थाले। जुन चिजदेखि पर भाग्न खोज्छौं, त्यही चिजले पछ्याई रहँदा के हाल होला ? तर, सत्य यही हो वर्तमान स्वीकार्नै पर्छ।

‘पहिलो लहर झेलेकै हो। यो पनि झेलौंला !’, सोचेर मन दरो पारें।

निषेधाज्ञा सुरु भयो। जिन्दगी फेरि, झ्यालखानामा कैद भयो। टिभीले मृत्युका समाचार देखाउन थाले। अनलाइन, पत्रपत्रिकाले छिन-छिनमै अपडेट दिन थालेका थिए।

यो पक्रिया अझैं पनि चलि रहेको छ। मृत्युका समाचार लेखेर, देखाएर उनीहरु अझैं थाकेका छैनन्। पहिलो लहरमा त आफैं पनि फिल्डमा खटिएर यस्ता समाचार खोजेको थिएँ। लेखेको थिएँ। जुन कहिल्यै लेख्न नपरोस् झैं लाग्थ्यो। स्थिति हिजोभन्दा आज जटिल बन्दै थियो। 

कोठामै बसिरहेको थिएँ। पहिलो लहरमा जस्तै, दोस्रो लहर सुरु भएपछि सावधानी अपनाई रहेको थिएँ। ‘म आउछु’ भनेर आउने भए पो थाहा हुन्थ्यो। सावधानी अपनाउदा अपनाउदै कहाँ चुके।

रुघा, खोकी र ज्वरोले भेटीहाल्यो। ज्यान यति दुख्थ्यो कि, तीन रातसम्म त कोल्टे फेर्न पनि सकिनँ। खाना खायो कत्ति पनि स्वाद नआउने। रोगको सबै लक्षण हेर्दा कोरोनासँग मिल्दाजुल्दा थिए। तैं पनि मैले टेष्ट गराइनँ। घरमै आइसोलेट भएर बसें।

यता म बिरामी हुनु। उता भिनाजु पनि बिरामी। बाहिर कोरोना हाउगुजी। परिवारमा डरै डर !

कोरोनै लागेको भए पनि जित्छु भन्ने विश्वास थियो। खाना नरुचे पनि पाँच दिनपछि ज्यान अलि तंग्रेको थियो। धन्न ! म बाँचे।

...

म ठिक भएँ। भिनाजुलाई ‘बिसको उन्नाइस’ भएन। फोनमा कुराकानी भइरहेको थियो। अस्पतालमा उल्टै संक्रमित हुने डर। गए पनि बेडै नपाइने ! ‘अस्पताल गै हाल्नुस्,’ भनेर कर गर्न पनि सकिरहेको थिइन। सकभर घरेलु उपचारले ठिक होस् भन्ने थियो।

भिनाजुको अवस्था अझैं उस्तै थियो। ‘मर्नभन्दा बौलाउन निको’ ठानेर अस्पताल जाने निधो भो। दिदी, भिनाजु उपचार खोज्दै ‘लुम्बिनी मेडिकल कलेज’ पाल्पा आए। 
...

अस्पतालको दैलो टेकेपछि जस्तै बिरामीलाई पनि बाँच्छु भन्ने हिम्मत आउछ रे ! भिनाजु त ठिकै हुनुहुन्थ्यो। सुतेको ठाउँबाट उठ्नै नसक्ने अवस्था थिएन। अस्पताल पुगे पछि केही उपाय निस्केला भन्ने नै थियो। 

यताबाट तारन्तार फोन गरेर भिनाजुको अवस्था बुँझि रहेको थिएँ। पहिलो दिन ‘कोभिड टेष्ट’पछि मात्रै अस्पतालले उपचार गर्ने, नगर्ने भनेर स्वाब मात्रै लिएर फर्काइ दिएछ। 

नमिठो लाग्यो। कमसेकम सुरक्षाका उपाय अपनाएर जाँचेको भए पनि हुने। ‘रिपोर्ट आएपछि जाँच्ला’ अवस्था यस्तो छ कि कुर्न सक्दिनँ भन्नु बाञ्छनीय हुन जान्थ्यो। 

भोलिपल्ट...

भिनाजुको अवस्थाबारे फोनबाट अपडेट लिई रहेको थिएँ। दिउँसो तीन बजे रिपोर्ट आएपछि मात्रै उपचार गर्ने, नगर्ने त अस्पतालले अघिल्लो दिनमै सुनाई सकेको थियो। 

कोभिड भए उपचार गर्दिनँ, भनेर अस्पतालले हात उठाई सकेको थियो। रिपोर्ट पोजेटिभ नै आएछ भने पनि केही उपाय गरौंला भन्ने नै थियो। त्यहाँको अस्पतालमा बेड नपाए पनि पोखरा ल्याएर उपचार गराउला भनेर ढुक्क थिएँ। 

३ बजे रिपोर्ट आयो। लेखिएको रहेछ, पोजेटिभ। कागज हातमा थमाउदै अस्पतालले भनेछ, ‘तपाईको बिरामीलाई हामी उपचार गर्न सक्दैनौं।’

रिङ्गटा लागे जस्तै भयो। हातखुट्टा लल्याकलुलुक भै सकेका थिए। जे आई पर्छ त्यसलाई सामना गर्छु भनेर कहाँ हुने रहेछ र ! परिस्थितिको भारी त गहुँगा हुँदा रहेछन्। अस्पतालले भर्ना नलिए पनि पोखरा ल्याउला भनेर दिदीलाई आश्वासन त दिई हाले। यता पनि अवस्था उही थियो।

पोखरा वर्षिदै थियो। कोठाबाट रुँझ्दै निस्किएँ। एउटा न एउटा उपाय कसो ननिस्केला, ए ! एक मन भन्थ्यो। अर्को मन डराइरहेथ्यो। दिदीलाई एम्बुलेन्स खोजेर पोखरा हिडी हाल्न लगाएँ।

कोठाबाट सिधै तीर्थ दाईकोमा गएँ। उहाँ आफैं स्वास्थ्यकर्मी भएको हिसाबले उहाँबाट केही उपाय निस्किन सक्थ्यो। धन्न, नयाँबजार पुग्दा दाईको फार्मेसी खुल्ला रहेछ।

दाईलाई समस्या बताएँ। उहाँसँग पनि त्यस्तो आइडिया केही रहेछ। फ्याट्ट उपाय निकाल्न सक्नु भएन। यसै पनि आत्तिई रहेको मलाई आशै सकिए झैं लाग्यो। एकैछिनपछि दाईले नै ‘अखिल’को हेल्पलाइनले अप्ठेरोमा परेका कोभिडका बिरामीलाई अस्पताल खोज्न सहयोग गर्ने बताउनु भयो। मलाई ठूलै राहत मिले झै भयो। दाईसँग फोन नम्बर लिएर फोन लगाएँ। 

कत्रो आश लिएर फोन लगाएको थिएँ। उठेन। मन खिन्न भयो। अरु, चिनेजानेका सम्झनामा आए जति सबैलाई फोन गरेर एउटा बेड मिलाइ दिन गुहारे।

तर, अँह ! कसैले बेड मिल्यो भनेर कल ब्याक गरेनन्। उता दिदीले फोन गरेर सुनाइन्। कोरोना बिरामी भनेको एम्बुलेन्स पनि जान मानेन् !

कता जाउँ र कसो गरुँ झैं भै रहेथ्यो। केशव दाईले आइडिया दिनु भयो अर्जुन गिरीलाई फोन गरें केही उपाय निस्किन सक्छ। अर्जुन दाईलाइ फोन लगाएँ। दाईले एउटा न एउटा उपाय निकाल्ने आश्वासन दिए। बल्ल, श्वास भरिए झैं लाग्यो।

अर्जुन दाईले डाक्टरको मोबाइल नम्बर दिएर थप कुराकानी गर भन्नु भयो। मैले डाक्टरलाई फोन लगाएँ। डाक्टरले इमर्जेन्सीमा नभए पनि नर्मल वार्डमा राख्न मिल्ने बताए। कोभिड निको भएर बिरामी घर फर्केको खण्डमा त्यो बेडमा राख्न सकिन्थ्यो। पोखरा ल्याउन मात्रै सकें धेरै गर्न सकिन्छ, सोचेर मनमनै खुसी भएँ।

अस्पतालमा बेड त जेनतेन मिल्ने भयो। एम्बुलेन्सलाई जति हारगुहार गरे पनि मान्न तयार भएन। केही जोर नचलेपछि पोखराबाटै एम्बुलेन्स लिएर पाल्पा जाने निधो गरें। धन्न ! एम्बुलेन्स जान तयार भयो। 

एम्बुलेन्स जति-जति हुँइकिन्थ्यो। मेरो मन अझैं बेतोडले हुँइकिन्थ्यो। फोनमा दिदी आत्तिइ रहेकी थिइन्। जति-जति हुँइकिए पनि स्टेरिङ मेरो हातमा भैदिए अलि छिटो पुगिन्थ्यो कि झैं भै रहेथ्यो। एम्बुलेन्स ‘कुविन्डे’ पुग्नै आँटेको थियो। पोखरा लैजाने शर्तमा अस्पताल अक्सिजन दिन तयार भएछ। थोरै भए पनि राहत महसुस भयो। मुटुको गति एम्बुलेन्सको भन्दा केही कम भयो। 

‘अक्सिजन दिएको भए केही हुन्न’ दिदीलाई ढुक्क पारें। राम्दी पुग्दा झमक्कै साँझ परि सकेको थियो। ‘दिदीले फोन उठाइन किन हो ?’ फोन बाको थियो। मनमा चिसो पस्यो। बालाई मैले ट्राई गर्छु भनें। फोन राखें।

तीन चोटीसम्म पूरै रिङ बज्दा पनि फोन उठेन। फेरि, मुटुको गतिले एम्बुलेन्सलाई उछिन्यो। पाँच-छ चोटीसम्म पूरै रिङ जाँदा पनि फोन उठ्दै उठेन। बरु, म्यासेजको घण्टी बज्यो। लेखिएको थियो, ‘सरी, बेड मिलेन।’ म्यासेज डाक्टरको थियो। पोखरा पुर्‍याउन मात्रै पाए ! हेरौंला भन्ने नै थियो। ठ्याक्कै त्यति नै बेला रेडियाेले सत्ता समीकरणको जोड-घटाउ नमिलेको समाचार सुनायो।

लुम्बिनी मेडिकल कलेज गेटबाट एम्बुलेन्स भित्र छिर्ने बित्तिकै हतार हतार इमर्जेन्सी वार्डतिर दौडिएँ। भिनाजु बेडमा अचेत अवस्थामा। मलाई देख्ने बित्तिकै दिदी पिल-पिल। मष्तिस्क पूरै खाली थियो। यस्तो बेलामा के गर्नुपर्छ ? मैले भेउ पाउन सकिनँ। 

‘तपाईं, एकछिन यता आउनुस् त !’ डाक्टरको आवाज थियो। म उनले इशारा गरेतिरै लुरु-लुरु।

‘तपाईंको बिरामीलाई तुरुन्त लगि हाल्नुस्। यहाँ राख्न मिल्दैन। चाँडो गरि हाल्नुस्’ डाक्टर जस्तो मान्छेले यति रुखो बोली बोल्ला भनेर मैले कल्पना पनि गरेको थिइनँ। 

‘उहाँको अवस्था कस्तो छ अहिले  ?’ यति मात्रै सोध्न सकें। ‘धड्कन लगभग चल्न छोडी सकेको छ। जे पनि हुन सक्छ। तपाईँहरुले लगिहाल्नुस्।’

‘हुन्छ, म लैजाने कोसिस गर्छु।’
..

लैजान त लैजाने। तर, कहाँ ? मष्तिस्क अन्यौलमा थियो।  ‘भाई जे गर्ने हो छिटो गर्नुस्’, यतिञ्जेल चुप बसेको एम्बुलेन्स चालक पनि हतारिए। उनलाई एकैछिन पर्खन अनुरोध गरें। 

यता, मेरो मुटुको गति बढ्दै थियो। भिनाजुको घटी रहेथ्यो। ‘तपाईँहरुको तयारी पूरा भएन ?’, डाक्टर फेरि फतफताउन आईपुग्यो।

भिनाजुको मुटुको गति रोकियो। अलि-अलि भएको आश पनि सकियो।

रातको ११ बजि सकेको थियो। एम्बुलेन्स चालकलाई बिदा दिईसकेको थिएँ। भिनाजुलाई होइन। आफैंलाई सम्हाल्न मुश्किल भैरहेको थियो। दिदीलाई सम्हाल्नु थियो। सम्हालिनु थियो। मुटु गह्रुंगो भएर आयो। फोनको घण्टी तारन्तार बजिरहेकाे थिए।

त्यो रात शव अस्पतालमै राख्न पायौं। उज्यालो हुनेबित्तिकै लैजाने शर्तमा। आफन्तलाई निको बनाएर घर लैजाने आश बोकेर बसेका कुरुवाहरु हामीलाई हेर्थे। धेरै त उनीहरुले भय बोकेका थिए। तिनका अनुहारमा कता-कता सहानुभूति पनि देखिन्थ्यो। तर, उनीहरु देखाउन्नथे। यिनीहरु निस्किए हामीले बेड पाउथ्यौं भन्ने पनि हुँदो हो।

‘तपाईँको बिरामीलाई कति बेला लैजानु हुन्छ ?’

१०-१५ मिनेटको फरकमा डाक्टर आउथे। सक्दो बेड खालि गराउन खोज्थे। बिरामीका आफन्तलाई चेतावनी दिन्थे। जान्थे। उनीहरु उज्यालो हुने बित्तिकै लैजाने बाचा गर्थे।

‘तपाईँहरुलाई पहिलै भनेको हो। कोभिडको बिरामी राख्दैनौं भनेर’, डाक्टर उस्तै रुखो बोलि बोल्थ्यो। बिरामीका आफन्तले थप अनुनय गरि सकेपछि डाक्टर अर्को बेड खालि गराउन लाग्थ्यो।

मृत्यु शय्यामा छटपटाई रहेका बिरामीका आफन्त बिरामीको अवस्था भन्दा पनि कतिबेला डाक्टर कतिबेला आउछ र बिरामी लगि हाल्नुस् भन्ने हो सोचेर त्रसित भए झैं भान हुन्थ्यो।

बिहान भैसकेको थिएन र पो। उज्यालो हुने बित्तिकै मैले पनि भिनाजुको शव उठाउनु पर्ने थियो।

प्रकाशित मिति: : 2021-05-17 21:18:00

प्रतिकृया दिनुहोस्