यस्तो छ जननेता मदन भण्डारीको घर (फाेटाे फिचर)

मोरङको रतुमाई नगरपालिका वडा नम्बर-१०, ईटहराको सातमेडीमा रहेको स्वर्गीय मदन भण्डारीको घर पुग्ने जो कोहि आश्चर्य चकित पर्ने गरेका छन्।

त्यो बेलादेखिको काठको मनमोहक घर मात्र हैन,घरभित्र छिर्दा छुट्टै आनन्द मिल्छ। इटहराको भौडाहा चोकबाट झण्डै २ किलोमिटर पूर्व गएपछि पुगिने स्वर्गीय मदन भण्डारीको यो घरका आसपासमा आँपका ठूला बोटहरु छन्।

वरिपरी रहेका नरिवल, सुपारीका बोटहरुसँगै फूलबारीले सौन्दर्य प्रदान गरेको छ। काठै-काठले बनाएको घर दुई तलाको छ। यो घरको तल्लो तलामा इलामबाट ल्याएर भण्डारी परिवारलाई राखिएको छ भने माथिको तला खाली छ।

माथिल्लो तलामा त्यो बेला मदन भण्डारी बस्ने र राजनीतिक गतीविधि गर्ने भएकोले  माथिल्लो तलालाई खाली नै राखिएको छ। त्यहाँ मदन भण्डारी लुक्ने थलो पनि छ। 

मदन भण्डारी २०२८ सालदेखि २०४७ सालसम्म यहीँ ठाउँमा बसेर राजनीति गर्ने, भेला, देश दौडाहा र संगठनको विस्तार गर्ने गर्थे। तर २०४७ सालपछि मदन यता फर्किएनन्।

२०५० सालसम्म यहीँ ठाउँमा मदन भण्डारीका बुबा-आमासहित परिवारका अन्य सदस्य बसे पनि मदन भण्डारीको निधनसँगै परिवारले यो ठाउँ छाड्यो। त्यसपछि यहाँको चहलपहल नै हराउँदै गयो।

मदन भण्डारीले २०२४ सालमा क्षत-विक्षत अवस्थामा पुगेको कम्युनिष्ट आन्दोलनलाई एकिकृत गर्दै मेची-कालीसम्म पुर्याउने काम यहीँ इटहराको सातमेडीबाट गरेको उनलाई नजिकैबाट नियालेकाहरु बताउँछन्।

राष्ट्रपतिको रुपमा रहेकी मदन भण्डारीकी धर्मपत्नी विद्या भण्डारीले समेत संरक्षणमा खासै चासो नदिएको स्थानीयको गुनासो छ।

प्रकाशित मिति: : 2021-05-17 12:23:00

प्रतिकृया दिनुहोस्