तीन वर्षअघि आज (जेठ ३ गते) कै दिन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर नेकपा बनेको थियो, त्यो नेकपा तीन वर्ष पुग्न अढाइ महिना बाँकी रहँदै विघटन हुन पुग्यो । नेकपा एकता हुँदाका बखत एकातिर वाम समर्थकहरूमा ठूलो उत्साह देखिन्थ्यो । तर, अर्कोतिर विचार, सिद्धान्त र संगठन पद्धतिको जगमा त्यो एकता नै बनेको थिएन भन्ने कम मानिसलाई मात्र थाहा थियो । त्यसकारण नेकपाको प्रारम्भको धरातल नै कमजोर थियो भन्न सकिन्छ ।
त्यो एकता एक हिसाबले कुनै चुनावी गठबन्धन बनेजस्तो गरेर ट्याक्टिकल मुभमेन्टमा विकसित हुँदै पार्टी एकतासम्म पुग्यो । एकताको प्रारम्भमै सैद्धान्तिक, सांगठनिक र लोकतान्त्रिक प्रक्रिया कमजोर थियो । किनभने, त्यो एकताबारे दुवैतर्फका धेरै नेता–कार्यकर्तालाई थाहा नै थिएन । एकता सरप्राइज जस्तो भएको थियो ।
यसरी लोकतान्त्रिक र सैद्धान्तिक जग कमजोर बनेर संगठनको समेत प्रक्रिया कमजोर भएकाले यसमा संकट आउनु र संकट अन्तिममा गएर फुट्मै परिणत हुनु अस्वाभाविक थिएन । संकट स्वभाविक थियो । तर, त्यो संकटको व्यवस्थापन नेकपाले गरेको भए फुटिहाल्ने अवस्था आउँदैनथ्यो । यो पनि आश्चर्य नमाने हुन्छ, आज फुटेको नेकपा फेरि अर्को ६ महिनामा एक नहोला भनेर । किनभने, यो जसरी एक भयो, त्यसरी नै फुट्यो ।