हुम्लाका एक काेराेना संक्रमितलाई  हेलिकोप्टरमार्फत् जुम्ला ल्याइयो 

हुम्लाका सर्केगाड गाउँपालिका हुल्लाका स्वास्थ्य संयोजक सन्तोष धामीलाई काेराेना संक्रमण भई श्वास–प्रश्वासमा समस्या भएपछि हेलिकोप्टरमार्फत् कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा  ल्याइएको छ।

बिहिबार बेलुकादेखि जिल्ला अस्पतालमा राखिएको संयोजक धामीको श्वास–प्रश्वास ५० मा झरेपछि थप उपचारका लागि हेलिकोप्टरमार्फत् जुम्ला पठाएको जनस्वास्थ्य कार्यालय हुम्लाका प्रमुख प्रेमबहादुर सिंहले जानकारी दिए। 

'उहाँ श्वास–प्रश्वासको अवस्था निकै संकट ग्रस्थ छ,' उनले भने, 'जिल्ला अस्पतालको व्यवस्थाले सम्भव नहुने भएपछि हेलिकोप्टरमार्फत जुम्ला पठाएको हो।' 

हेलिकोप्टर बोलाउन सबै पत्राचार गरेको उल्लेख गरेका सिंहका अनुसार धामीलाई रानीवन आइसोलेसनबाट बिहिबार जिल्ला अस्पतालमा ल्याइएको हो। 

कर्णाली प्रदेशका अन्य अस्पतालभन्दा कर्णाली स्वास्थ्य विज्ञान प्रतिठानमा चिकित्सक र अक्सिजनको हिसाबले समस्या नभएकाेले उनलाई जुम्ला ल्याइएकाे हाे। हाल उनकाे प्रतिष्ठानमा उपचार भइरहेको छ।

प्रकाशित मिति: : 2021-05-14 21:29:00

प्रतिकृया दिनुहोस्