मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

धनुषाको ढल्केवरमा मोटरसाइकलको ठक्करबाट एकजना पैदल यात्रीको मृत्यु भएको छ। मृतककाे पहिचान भने खुल्न सकेको छैन।

बिहिबार राति अन्दाजी साढे ८ बजे ढल्केवरस्थित मिथिला नगरपालिकाको कार्यालय अगाडि पूर्वपश्चिम लोकमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा ४६ प ८२१७ नम्बरको मोटरसाइकलकाे ठक्करबाट उनकाे मृत्यु भएको हो। पहिचान खुल्न नसकेको व्यक्तिले एक्कासी बाटो काटेपछि दुर्घटना भएकाे बताइएकाे छ। 

इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक प्रदिप सुवेदीले हालसम्म नामथर, वतन नखुलेका अन्दाजी ३१ बर्षीय युवाको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको बताए। ठक्करबाट गम्भीर घाइते भएका पैदल यात्री युवालाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाएकोमा सो अस्पतालनमा उपचार हुन नसकेपछि थप उपचारका लागि बिराटनगरस्थित न्यूरो अस्पताल लैजाने क्रममा बिहान ४ बजेतिर बाटोमै मृत्यु भएको सुवेदीले जानकारी दिए।

मृतक युवकको लास सोही अस्पतालमा राखिएको छ। ठक्कर दिने मोटरसाइकललाई प्रहरीले नियण्नत्रमा लिएकाे छ।

मोटरसाइकल चालक झापा हल्दीबारी गाउँपालिका १ रामचौक बस्ने बर्ष २१ का नवराज ओली र मोटरसाइकलमा पछाडि सवार सोही ठाउँका २१ बर्षीय मिलन कटुवाल सामान्य घाइते भएको प्रहरीले जनाएकाे छ।

उनीहरुको ढल्केवरस्थित एक नीजि स्वास्थ्य उपचार केन्द्रमा उपचार भइरहेको बताइएकाे छ। 

प्रकाशित मिति: : 2021-05-14 14:07:00

प्रतिकृया दिनुहोस्