दुर्घटना गराई फरार वडाअध्यक्ष यादव फक्राउ

सर्लाहीको बरहथवा नगरपालिका–१३ का वडाध्यक्ष जयनारायण यादव पक्राउ परेका छन्।

वैशाख २५ गते वडाध्यक्ष यादवले चलाएको भारतीय नम्बर प्लेटको मोटरसाइकलले एक बालकलाई ठक्कर दिएर ज्यान गएको थियो। त्यसलगत्तै फरार वडाध्यक्ष यादव बिहीबार पक्राउ परेका इलाका प्रहरी कार्यालय बरथवाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिए।

बरथवा नगरपालिका–३ अन्तर्गतको भित्री सडकखण्डमा वडाध्यक्ष यादवले चलाएको बिआर३०एस ९२४५ नं–को भारतीय मोटरसाइकलले स्थानीय अन्दाजी चार वर्षीय आदित्य महतोलाई ठक्कर दिएको र उनको उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक भाटले बताए।

पक्राउ परेका वडाध्यक्ष यादवलाई जिल्ला अदालत सर्लाहीबाट छ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए।

शिकारी र प्रहरीबिच गोली हानाहान, एक पक्राउ सर्लाहीको ईश्वरपुर नगरपालिका–४ सागरनाथबाट तीन नाल भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

ईश्वरपुर–४ सागरनाथ वन विकास परियोजनाको जङ्गल क्षेत्रमा निलगाई मारेर छापा काट्दै गर्दा एक जनासहित तीन नाल भरुवा बन्दुक नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय केशरगञ्ज बयलवासका प्रहरी प्रमुख प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले जानकारी दिए।

चार–पाँच जनाको समूहका रहेका शिकारीले जङ्गलबाट निलगाई मारी छाला काडिरहेको समयमा प्रहरीको गस्ती टोली पुगेपछि प्रहरीमाथि नै तीन/चार राउण्ड हवाई फायरसमेत गरेका प्रहरी निरीक्षक ढुङ्गानाले बताए।

शिकारीले प्रहरीलाई देख्नासाथ प्रहरीमाथि गोली चलाउन थालेपछि प्रहरीले जवाफमा दुई राउण्ड हवाई फायर गर्नुपरेको प्रहरीले जनाएको छ।

प्रहरीमाथि हवाई फायर गरी अन्य शिकारी भागे पनि ईश्वरपुर नपा–४ का अन्दाजी ५२ वर्षीय रणबहादुर गोलेलाई प्रहरीले तीन नाल भरुवा बन्दुकसहित नियन्त्रणमा लिन सफल भएको छ।

गोलेको साथबाट सो बन्दुकमा लाग्ने बारुद एक बट्टा, प्रदेश–२–०३२प २५२२ नंको मोटरसाइकल र बिआर३०यु ४६७७ नंको भारतीय मोटरसाइकलसमेत बरामद गरेको प्रहरी निरीक्षक ढुङ्गानाले जानकारी दिए। मारिएको निलगाई इलाका प्रहरी कार्यालय केशरगञ्ज बयलवासले सागरनाथ वन विकास परियोजनालाई जिम्मा लगाएको र फरारहरूको खोजी अघि बढाएको प्रहरीले जनाएको छ। रासस

प्रकाशित मिति: : 2021-05-14 08:49:00

प्रतिकृया दिनुहोस्