८० वर्षपछि फेरियो कुमारीको आसन (भिडियाे)

शनि शाक्य

ललितपुर 

ललितपुरको जीवित देवी कुमारीको आसन ८० वर्षपछि फेरिएको छ।

हरेक दिन नियमित पूजाका लागि देवी कुमारी विराजमान हुने आसन जीर्ण हुँदै गएकाले फेरिएको हो।

ललितपुर महानगरपालिका–१६ वडा कार्यालयको सहयोगमा नयाँ आसन तयार गरिएको वडा अध्यक्ष निर्मलरत्न शाक्यले जानकारी दिएका छन्।

उनका अनुसार यसअघि प्रयोगमा ल्याइएको आसन पुरानो भएकोले वडाको अग्रसरतामा फेरिएको वडा अध्यक्ष शाक्यले बताएका छन्।

अहिले प्रयोग भइरहेको आसन नेपाल संवत् १०६१ मा हर्खराज बज्राचार्य र उनको परिवारले प्रदान गरेका थिए। नयाँ आसन बिहीबार रत्नाकर महाविहार हःख बहाःमा एक धार्मिक पूजाको आयोजना गरी हस्तान्तरण गरिएको छ।

अहिले निर्माण गरिएको आसनमा सुन र चाँदीले लेपन गरिएको छ। उक्त आसन करिब ७ लाख पचाँस हजारमा निर्माण गरिएको हो।

जीवित देवी कुमारीको परम्परालाई अन्तर्राष्ट्रिय जगतमै नेपालकै एउटा पहिचानका रुपमा लिइन्छ। नेवाः संस्कृति र जात्रा पर्वमा जीवित देवीको विशिष्ट स्थान रहेको छ। रातो मच्छिन्द्रनाथ तान्ने बेला, भोटो जात्रा, बडादशैंको अवसरमा पाटन दरबार क्षेत्रमा हुने पूजाआजामा कुमारीलाई आसनमा राखेर उपस्थिति गराउने गरिन्छ।

प्रकाशित मिति: : 2021-05-13 19:11:00

प्रतिकृया दिनुहोस्