महामारीविरुद्ध स्वास्थ्य सचेतना शिबिर सञ्चाल गरिरहेका युवालाई गाउँपालिका अध्यक्षकाे अबरोध

कोरोना महामारी रोकथाम र उपचारका लागि  सचेतना गतिबिधिको लागि रोल्पाका युवाहरुले सामाजिक संजालमा सहयोग अभियान संचालन गर्दै औषधि र स्वास्थ्य सामग्री वितरण गर्न थालेपछि गङ्गादेव गाउँपालिकासँग विवाद भएको छ। गाउपालिका अध्यक्ष बिरबहादुर खत्रीले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिदै अबरोध गरेका हुन्।

जापान र दुबै, मलेसियामा रहेका गङ्गादेववासीले कोरोना महामारी रोक्नका लागि भिडियो कन्फ्रेन्स गर्दै आर्थिक सहयोग गर्ने भनेपछि मास्क, स्यानिटाइजर, ग्लोब्सजस्ता स्वास्थ्य सुरक्षा सामग्री तथा सिटामोलजस्ता सामान्य औषधि खरिद गरेर स्थानीय आधारभूत स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरिएको र एन्टिजेन कीट खरिदको कार्य भइरहेका बेला गाउँपालिका अध्यक्षले अभियानमा हस्तक्षेप गर्न मुद्दा दर्ता गराएको समन्वय भूमिका निभाएका अभियान्ता टेकम वलीले बताए।

गाउँपालिका कार्यालयका कर्मचारी र आसपासका स्थानीयवासीलाई कोरोना देखिएपछि गाउँपालिकाले लकडाउनबाहेक उपचार र रोकथामका काम गर्न चासो नदिएपछि स्थानीय युवाको पहलमा अभियान थालनी गरेको वलीको भनाइ छ। उनका अनुसार १ दिनमा १ लाख २५ हजार बराबर सहयोग प्रतिबद्दता प्राप्त भएको तर रकम भने प्राप्त नभएको जानकारी दिए।

बिदेशबाट यूवाहरुले पठाउने प्रतिबद्दता रकम स्थानीयवासी टेकम वलीले गाउँपालिका र स्थानीय प्रशासनको स्वीकृतिबिना सहयोग सङ्कलन गर्न लागेकाले सो कार्य रोक्न जिल्ला प्रशासनमा माैखिक उजुरी दिएक‍को गाउँपालिका अध्यक्ष वीरबहादुर खत्रीले जानकारी दिए। उनले रु १० लाख सहयोग उठाएर आफूखुशी १० हजारको औषधि वितरण गर्न आरोप लगाउदै गाउँपालिकाले सो काम गर्न अनुमति नदिएको बताए।

गाउँपालिका र स्थानीय युवा समूहबीच भएको विवाद आफूसम्म आएको जनाउँदै प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बुझाइमा एकरुपता नआउँदा विवाद भएको बताए।

प्रकाशित मिति: : 2021-05-13 16:04:00

प्रतिकृया दिनुहोस्