कोरोना भगाउन गाईको गोबर शरीरमा दल्ने देखेर डाक्टर चकित

भारतको गुजरातस्थित एक गौशालामा एकहुल मानिस गाईको गोबरले नुहाउन तँछाड्मछाड् गरिरहेका भेटिन्छन्।

उनीहरू प्रत्येक आइतबार शरीरमा गाईको गोबर दल्न भेला हुनेगरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

उनीहरूमा यस्तो विश्वास छ– गोबरले नुहाउँदा कोरोना भाइरसविरूद्ध रोग प्रतिरोधात्मक क्षमता बढ्छ तर चिकित्सकहरूले भने यसमा कुनै सत्यता नभएको बताउँछन्।

गुजरातको श्री स्वामीनारायण गुरुकुल विश्वविद्यालय प्रतिष्ठान (एसजीवीपी) द्वारा सञ्चालित गौशालामा देखिएको यो दृश्य प्रायःलाई रोचक लागे पनि भारतीय चिकित्सक भने हैरान भएका छन्।  

गुजरातका चिकित्सकहरूले कोरोना भाइरस भगाउन शरीरमा गाईको गोबर दल्नेहरूलाई यस्तो कार्य नगर्न चेतावती दिएका छन् तर गोबरले नुहाउनेहरू भने चिकित्सकको सल्लाह पटक्कै सुन्दैनन्। 

गौशालामा २० भन्दा बढी गाई रहेको श्री स्वामीनारायण गुरुकुल विश्वविद्यालय प्रतिष्ठानले जनाएको छ। अघिल्ला महिनाको प्रत्येक आइतबार कम्तीमा १५ जना गाईको गोबर र गोमूत्रले दल्न पुग्नेगरेका छन्। लगत्तै उनीहरूलाई गाईको दूधले नुहाएर घर पठाइन्छ।

गौशालामा गोबरले नुहाउन वरिष्ठ सरकारी कर्मचारी र औषधि पसलमा काम गर्नेहरूसमेत रहेका छन् तर चिकित्सक भने यो कार्य विल्कुलै गलत भएको बताउँछन्।  

गाईको गोबरले नुहाउँदैमा कोरोना भाइरसबाट सुरक्षित नहुने उनीहरूले बताएका छन् तथापि यसमा म्यूकोरमाइकोसिस र अन्य रोगको सङ्क्रमण हुनसक्ने चेतावनी दिएका छन्।

भारतीय जनस्वास्थ्य संस्थान, गान्धीनगरका निर्देशक डा. दिलीप मावलंकरले गौशालाको गोबर–उपचारबारे आफूलाई कुनै जानकारी नभएको बताएका छन्। ‘गोबर दलेर के उपचार हुन्छ? अहिलेसम्म मेरोसामु यस्तो कुनै अनुसन्धान छैन,’ उनले भने, ‘जसमा शरीर गोबरले नुहाउदैमा कोरोना भाइरसविरूद्ध रोग प्रतिरोधक क्षमता बढ्छ– मलाई थाहा छैन।’ 

महामारी सङ्कटकै बेला गोबर दलेर उपचार खोज्नु पाखण्ड र अप्रमाणित तर्क भएको भारतीय चिकित्सा संघकी महिला शाखा अध्यक्ष तथा शहरकी वरिष्ठ चिकित्सक डा. मोना देसाईले बताइन्। उनको पनि चेतावनी छ, यसले मानिसको म्यूकोरमाइकोसिस समेत अन्य संक्रमण हुनसक्छ।

प्रकाशित मिति: : 2021-05-12 17:10:00

प्रतिकृया दिनुहोस्