'सरकारको आश छैन, पाए काम गरेर खाइन्छ, नपाए भोकै बस्छौं'

सेतोपाटी

काठमाडाैं

बाटो हिँड्दा भिडभाडले सास फेर्नै गाह्रो हुने वसन्तपुर निषेधाज्ञापछि सुनसान छ। केही ट्याक्सी लाइन बसेका छन्। कोही चालक गफमा मस्त, कोही निद्रामा। 

उनीहरूकै छेउमा ३७ वर्षीय रेशम तामाङ भने रिक्सा सफा गर्दै थिए। कतै जान लागेका हुन् वा गएर आएका हुन् भनी हामीले सोध्यौं।

'कतै गएको छैन, कोही आएको पनि छैन। बिहानदेखि यहीँ छु,' दिक्दार भावमा उनले भने, 'धूलो उड्छ, रिक्साभरी टाँसिएछ, झार्दैछु।'

निषेधाज्ञाले सबै सवारी साधन बन्द छन्। यस्तो बेला रिक्सामा राम्रै कमाइ होला भन्ने आश रेशमको थियो। तर कोरोनाले काठमाडौं सहरलाई तर्साएसँगै मान्छेहरूको हिँडडुल पनि ठप्प भएको छ। सँगै रेशमको कमाइ पनि।

'केही कमाइ छैन। पहिलेको लकडाउनमा साथीहरूले राम्रै कमाइयो भनेका थिए। अहिले त मान्छे डराएर होला, कोही बाहिरै निस्केका छैनन्,' उनले भने।

उसो त पोहोर लकडाउनमा उनले पनि डराएर रिक्सा चलाएनन्। तर कोरोना महामारीले वर्षैपिच्छे सताउन थालेपछि काम नगरी खान नपुग्ने रेशम यसपालि चुप लागेर बस्न सकेनन्। 

प्रकाशित मिति: : 2021-05-12 10:28:00

प्रतिकृया दिनुहोस्