जुम्लाको गुठीचौर एग्रो फार्मले स्याउ बगैँचामा प्रयोग गर्नका लागि यहाँका किसानबाट रु १८ लाखको गोठेमल खरिद गरेको छ।
सबै किसानबाट १४ हजार डोका गोठेमल किसानबाट खरिद गरिएको एग्रो फार्मका सञ्चालक मीमबहादुर भण्डारीले बताए।
उनले भने, '३० हजार स्याउका खाल्डामा प्रयोग गर्न किसानबाट गोठेमल खरिद गरिएको छ। फार्ममा ३० हजार फुजी स्याउका बिरुवा आउने जेठ महिनाको १५ गतेसम्म लगाइसक्ने योजना बनाएका छौँ।'
स्याउका बिरुवा रोप्ने कार्य शुरु भएको सो फार्मका सञ्चालक भण्डारीले बताए। विगतका वर्षमा किसानले उत्पादन गरेको गोठेमल प्रयोग नभएपछि खेर जाने गथ्र्यो। यस वर्षदेखि अवस्था फरक बनेको छ। किसानले उत्पादन गरेको गोठेमल फार्मले खरिद गरेपछि यहाँका किसानलाई आर्थिक उन्नतिमा केही सहज भएको स्थानीयवासी विष्णु धितालले बताए।
किसानले गोठेमल बिक्री हुन्छ भनेर सोचेका पनि थिएनन्। फार्मले मल खरिद गरेपछि किसान भने खुशी भएका छन् । प्रत्येक किसानको घरमै पुगेर फार्मले गोठेमल खरिद गरेको फार्मका सञ्चालक भण्डारीले बताए।
फार्मका लागि आवश्यक पर्ने गोठेमल गुठीचौर एग्रो फार्मले किसानबाट खरिद गरेको हो। फुजी स्याउका बिरुवा लगाउनुपूर्व खनिएका खाल्डामा मल प्रयोग गर्नका लागि किसानबाट गोठेमल खरिद गरिएको एग्रो फार्मले जनाएको छ।
माटोमा फसफोरसको कमी भएकाले रु सात लाखको बोनमल पनि फार्मले खरिद गरेको छ। स्याउका बिरुवाका लागि रु २५ लाखको मल खरिद गरेको फार्मका व्यवस्थापक केसी भण्डारीले बताए।
ठूलो परिमाणमा किसानबाट मल खरिद गरिएको छ। गाई, गोरु र भैँसीको हड्डी कुहाएर बनाइएको बोनमल फार्ममा प्रयोग भएको छ। जलजलामा १५० हेक्टर जमिनमा देशको सबैभन्दा ठूलो फुजी स्याउको बगैँचा निर्माण हुन लागेको सञ्चालक भण्डारीले बताए। व्यक्तिगत लगानीमा देशकै ठूलो स्याउ बगैँचा भण्डारीले निर्माण गरेका हुन्।
सञ्चालक भण्डारीले भने, 'बगैचा निर्माणका लागि रु आठ करोड खर्च भएको छ।' बीस वर्षको उमेरदेखि जडीबुटी व्यापारमा संलग्न भण्डारी ४८ वर्षको उमेरमा कृषि क्षेत्रमा फर्कनुभएको छ । झण्डै २८ वर्षपछि भण्डारी कृषि क्षेत्रमा जोडिएका हुन्।
सो स्याउ बगैँचा कृषि स्रोत केन्द्रका रूपमा स्थापित हुने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वन एकाइ जुम्लाका प्रमुख नमराज भण्डारीले बताए।
जिल्लामा झण्डै तीन हजार ४५० हेक्टरमा स्थानीय जातको स्याउ उत्पादन हुने गरेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ। पछिल्लो समयमा जिल्लाका किसान फुजी जातको स्याउ व्यावसायिक खेतीमा आकर्षण भएका छन्। रासस