१२ वर्षीया छोरीले गरिन् आमाको काजकिरिया

धनकुटा नगरपालिका वडा नम्बर ३ कागतेमा १२ वर्षीया छोरी प्रितिजा न्यौपानेले मोटरसाइकल दुर्घटना परेर मृत्यु भएकी आफ्नी ३० वर्षीया आमा जानुका कार्कीको काजकिरिया गरिहेकी छिन्।

सामान्यतया आमाको मृत्यु हँदा छोराले मात्र काजकिरीया गर्ने परम्परा रहेको भन्दै प्रचलन चलिरहेको अवस्थामा काजकिरीया कै लागि मात्र भएपनि छोरा जन्माउने पौराणिक आस्था रहेको छ।

तर, यस्तो प्रचलनलाई थाती राख्दै पौराणिक आस्थालाई समयानुकुल बनाउन र काजकिरीया गर्नकालागि छोरा नै चाहिन्छ भन्ने भ्रमात्मक सामाजिक मान्यतालाई तोड्दै मृतक जानुकाकी छोरी प्रितिजा न्यौपाने कार्कीले सहज रुपमा आफ्नी आमाको दाह्संस्कार देखि लिएर काजकिरीया समेत गरेकी हुन। हुनत केही वर्षदेखि छोरा नभएको अवस्थामा छोरीले पनि आफ्ना बाबुआमाको मृत्युहुँदा काजकिरिया गरेका घटना फाट्टफुट्ट सुनिँदै आएका छन् तर नाबालकले नै काजकिरियामा बसेको घटना भने कमै पाइन्छ।

आमा जानुकाको वैशाख १०गते धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थित सिम्सुवामा भएको मोटरसाइकल दुर्घटनामा परेर वैशाख १२ गते मृत्यु भएको थियो। जानुकाको सङ्खुवासभा आँखिभुइँका प्रकाश न्यौपानेसँग विवाह भएको र विवाहपछि एक सन्तान छोरीको जन्म भएको थियो तर अहिले उनीहरूबीच सम्बन्ध बिच्छेद भइसकेकाले छोरी प्रितिजालाई लिएर माइती मै बस्दै आएकी थिइन्।

हाल प्रितिजा कक्षा ६ मा निजामती आवासिय विद्यालयमा अध्यनरत रहेकी छन्।

प्रकाशित मिति: : 2021-05-11 11:27:00

प्रतिकृया दिनुहोस्