मध्यरातमा महन्थको विज्ञप्ति: ओली नै ठीक छन्, वैकल्पिक सरकार गठनमा लाग्दैनौं

File Photo
File Photo

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफ्नो पार्टी वैकल्पिक सरकार निर्माणमा संलग्न नहुने बताएका छन्।

संसदमा विश्वासको मत प्राप्त गर्न नसकेपछि सोमबारबाट एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पदबाट बर्खास्त भएका छन्। संघीय संसदले ओली पदमुक्त भएको जानकारी राष्ट्रपति विद्यादेवी भण्डारीलाई सोमबार साँझ नै दिइसकेकाे छ। दुई वा दुईभन्दा बढी दल मिलेर ३ दिनभित्र बहुमतले नयाँ सरकार गठन गर्नेहुन्छ।

राष्ट्रपति भण्डारीले सोमबार राति नै संविधानको धारा ७६(२) अनुसार बहुमत जुटाएर सरकार बनाउनका लागि दलहरूलाई आह्वान गरिसकेकी छिन्।

विश्वासको मतमा तटस्थ बसेका जनता समाजवादी पार्टी अध्यक्ष ठाकुर समूह भने एकाएक ओलीलाई नै साथ दिने भएको छ। अध्यक्ष महन्थले सोमबार राति नै विज्ञप्ति जारी गर्दै ओलीको विपक्षमा नजाने घोषणा गरेका छन्। सरकार बनाउन नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपा यादव समूहले तयारी थालेका–बेला ठाकुरले भने विज्ञप्ति जारी गर्दै विरोध गरेका हुन्।

ठाकुरले विज्ञप्तिमा भनेका छन्, ‘सरकार निर्माण गर्ने, सरकारमा सहभागी हुने वा कुनै पनि किसिमको वैकल्पिक सरकार गठनमा संलग्न हुने कार्य जसपा नेपालको उद्देश्यविपरीत हो।’ नयाँ सरकार गठनमा लाग्दा  झन अस्थिरता हुने र आफ्ना एजेन्डा सम्बोधनको कार्य अझै अनिश्चितता तर्फ धकेलिने दावी उनले गरेका छन्। 

प्रकाशित मिति: : 2021-05-11 06:58:00

प्रतिकृया दिनुहोस्