प्रधानमन्त्री ओली वरिष्ठ नेता बनाउन तयार, निर्णय गर्ने निकायका रूपमा पदाधिकारी राख्न अस्वीकार 

File Photo
File Photo

प्रधानमन्त्री केपी शर्मा ओली यसअघि हटाइएका पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधवकुमार नेपाललाई वरिष्ठ नेता बनाएर अघि बढ्न तयार भएका छन् तर पार्टी पदाधिकारीलाई पूर्ववत पुनस्र्थापना गरी त्यसलाई निर्णय गर्ने अङ्ग बनाउन भने असहमति जनाएका छन्।

एमाले उ्रच्च स्रोतका अनुसार, प्रधानमन्त्री ओलीले माधवकुमार नेपाल पक्षका नेताहरु घनश्याम भुसाल, योगेश भट्टराईसँगको छलफलमा पनि उक्त कुरा बताएको प्रधानमन्त्रीनिकट स्रोतले जानकारी दिएको छ।

‘खनाल र नेपाललाई वरिष्ठ नेता बनाउन पनि प्रधानमन्त्री तयार हुनुहुन्छ, विगतमा स्थायी कमिटीमा रहेका सो समूहका नेताहरुलाई पनि सोही पदमा राख्न तयार हुनुहुन्छ’, प्रधानमन्त्रीनिकट स्रोतले भन्यो, ‘तर विगतको एमालेका पदाधिकारीलाई नै पुनर्बहाली गरेर अघि बढ्न तयार हुनुहुन्न। नेकपामा जुन अनिर्णय हुने अवस्था आयो, त्यो भोगाइका कारण पनि निर्णय गर्ने अंगका रुपमा स्वीकार्न उहाँ तयार हुनुहुन्न।’

प्रधानमन्त्री ओली पदाधिकारीलाई अर्कै ढंगले व्यवस्थापन गर्ने र निर्णय गर्ने अङ्गका रुपमा भने स्थायी कमिटीमात्र रहने गरी अघि बढ्न तयार रहेको उक्त स्रोतले जानकारी दिएको छ। 

प्रधानमन्त्रीको धारणा छ, ‘स्थायी कमिटीमा विघटित नेकपाभित्र रहेका हाल एमालेमा रहेका सबै नेतालाई राखेर जान सकिन्छ। स्थायी कमिटीलाई निर्णय गर्ने अङ्गका रुपमा जान सकिन्छ।’

प्रधानमन्त्री ओलीले फागुन २८ गते र त्यसपछि भएका केन्द्रीय कमिटीका सबै निर्णय खारेज गर्ने र एमाले पुनस्र्थापनापछिको पहिलो बैठक भनेर बैठक डाक्न पनि अस्वीकार गरेका छन्। 

ओलीले माओवादीकेन्द्र त्यागेर एमालेमा आएका रामबहादुर थापा बादलसहितको २३ जना केन्द्रीय सदस्यसमेत सहभागी हुने गरी केन्द्रीय कमिटी बैठक राख्ने र त्यसबाट अहिलेको महाधिवेशन आयोजक कमिटीलाई हेरफेर गरेर मिलाउने प्रधानमन्त्रीको प्रस्ताव छ।  

प्रधानमन्त्री ओलीले प्रदेश कमिटी, जिल्ला कमिटीलगायतका निकाय सहमतिका आधारमा मिलाएर अघि बढ्ने पनि बताएका छन् तर माधवकुमार नेपालले भने केन्द्रीय कमिटीको पहिलो बैठक भनेरै डाक्नुपर्ने तर त्यसमा बादलसहितका पूर्व माओवादीकेन्द्रका नेतालाई पनि सहभागी गराउँदा आपत्ति नहुने बताएका छन्। 

प्रधानमन्त्री ओली र नेपाल पक्षका नेताहरु घनश्याम भुसाल, योगेश भट्टराईलगायतसँग यसबारे छलफल भए पनि पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नै ओलीसँग छलफल गरेर मात्र टुंगोमा पुग्ने बताइएको छ।

पूर्व प्रधानमन्त्री नेपालले भने फेसबुक पेजमा लेखेका छन्, ‘हामी सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने सुदृढ र एकतावद्ध एमाले चाहन्छौं किनकि यो हामीले निर्माण गरेको पार्टी हो। यसका लागि वार्ता र लचकता दुवै अपनाउछौं, तर अहिले सम्म कुनै सहमति भएको छैन। २०७७ फागुन २८ गते र तत्पश्चात बसेका कथित बैठकहरू र त्यसले गरेका निर्णयहरू फिर्ता लिनुपर्छ र २०७५ जेष्ठ २ गतेको कमिटी, विधान र नेतृत्व नै हाम्रो बटम लाइन हो। यस सम्बन्धमा कुनै किसिमको भ्रममा नपर्न , नअल्मलिन र सुदृढ र सशक्त पार्टी बनाउने महान अभियानमा लागिरहन आह्वान गर्दछौं।’



एमाले एकताबद्ध हुने भएपछि ‘बादल’ बने उम्मेद्वार, सहमतिको ‘इनिसिएसन’ लिए घनश्याम र योगेशले 

प्रकाशित मिति: : 2021-05-07 15:45:00

प्रतिकृया दिनुहोस्