कोभिड-१९ विरुद्ध १४ माघमा खोप अभियान शुरूआत भएको नेपालमा तीन लाख ६२ हजार एक जनाले मात्रै खोपको दोस्रो डोज लगाउन पाए। खोपको पहिलो डोज पाउनेहरू २० लाख ९१ हजार ५११ छन्।
स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले हिमालखबरसँगकाे अन्तर्वार्तामा ‘बिचौलिया’का कारण भारतको सिरम इन्स्टिच्यूट अफ इन्डियासँग थप ५० लाख डोज खरीद गर्ने सम्झौता अगाडि बढ्न नसकेकाे बताएका थिए। जसले गर्दा खोप अभियान प्रभावित बन्न पुग्यो। विज्ञहरूले दैनिक सात-आठ हजार कोरोना संक्रमित भएको नेपालमा महामारी नियन्त्रणका लागि खोपको महत्त्वपूर्ण भूमिका रहने बताउँदै आएका छन्।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) की प्राज्ञ प्रा.डा. अञ्जना सिंह भने अब खोपको दोस्रो डोजले नपुगे तेस्रो डोज समेत आवश्यक पर्नसक्ने बताउँछिन्। कोरोनाभाइरसले स्वरूप परिवर्तन गर्ने भएकाले थप मात्रा आवश्यक पर्नसक्ने उनको भनाइ छ। त्रिभुवन विश्वविद्यालय माइक्रोबायोलोजी केन्द्रीय विभाग प्रमुख रहिसकेकी प्रा.डा. सिंहसँग कोरोनाभाइरस र खोपसँग सम्बन्धित रहेर गरिएको कुराकानीको सम्पादित अंश :
विश्वलाई हायलकायल पारेको कोरोनाभाइरस कस्तो प्रकारको भाइरस हो?
भाइरसहरू सात प्रकारका हुन्छन्। त्यसमध्ये एउटा कोरोनाभिरिडी भन्ने वंश छ, कोरोनाभाइरस त्यसैमा पर्छ। यसलाई हामी आरएनए (रिबोन्युक्लिक एसिड) भाइरस भन्छौं। यो भाइरस टेबलको सतह, स्टीलमा वा लुगाफाटोमा टाँसिँदा निर्जीव कणका रूपमा बस्छ। तर, कुनै जीवको सम्पर्कमा आएर शरीरभित्र पस्ने मौका पायो भने आफूलाई जीवमै परिणत गर्छ। र, जीवले झैं व्यवहार गर्नथाल्छ। अनि गुणात्मक वृद्धि भएर दुईबाट चार, चारबाट आठ, आठबाट १६ गर्दै आफ्नो संख्या बढाउँदै लैजान्छ।