सुदूरपश्चिममा अक्सिजनको हाहाकार : चिकित्सक भन्छन्, ‘तत्काल आपूर्ति नभए भयावह स्थिति हुन सक्छ’

हिमाल जोशी

सुदूर पश्चिममा कोरोना संक्रमितको लागि आवश्यक अक्सिजनको अभाजव भएको छ। कोरोना संक्रमितले सुदूरपश्चिमका सरकारी र नीजि अस्पतालहरु भरिभराउ छन्।

अक्सिजनको सर्पोट चाहिने संक्रमितको संख्या बढ्दै जाँदा सिमित अक्सिजन उत्पादन रहेको सुदूरपश्चिम प्रदेशका अस्पतालहरुमा अक्सिजनको चरम अभाव भएको हो। अक्सिजनका सिलिण्डर आएका बेला संक्रमितका आफन्तको लुछाचुँडी गर्ने गरेको र संक्रमितले अक्सिजन नपाएर ज्यान बचाउन नै गाह्रो भईरहेको अवस्था छ।

‘अक्सिजनको अभाव छ। बिहीवार राती हावाहुरीपछि बन्द भएको धनगढीस्थित मालिका अक्सिजन उद्योग बिहान सञ्चालन आएपनि यहाँको मागलाई धान्न सक्ने अवस्थामा छैन।

‘अक्सिजन खोजिदिनुपर्यो’ भनेर फोन आउने गरेका छन्,’ जिल्ला कोभिड संकट व्यवस्थापनका संयोजक रहेका समेत रहेका कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले भने, ‘अक्सिजनको अभाव हटाएर संक्रमितलाई अक्सिजन सहज बनाउन हामी लागिरहेका छौं।’ सेती प्रादेशिक अस्पतालमा जडान भएको अक्सिजन प्लान्ट चौबिस घण्टामा जम्मा ७ सिलिण्डर अक्सिजन उत्पादन गर्ने क्षमताको छ।

विद्युत अनियमित हुँदा हाल ५५ देखि ६० सिलिण्डर मात्र उत्पादन भइरहेको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए। सेती प्रादेशिक अस्पतालमा अहिले दिनहुँ डेढ सय जति अक्सिजन सिलिण्डर आवश्यक रहेको छ।

यसैगरी, महाकाली प्रादेशिक अस्पतालमा १२ सिलिण्डर अक्सिजन उत्पादन गर्ने मात्र रहेको अस्पातलका मेडिकल सुपरिटेन्डेन्ट हरि श्रेष्ठले बताए। ‘हामीलाई अस्पतालमा कम्तीमा प्रत्येक दिन ४० देखि ५० सिलिण्डर अक्सिजन चाहिन्छ,’ उनले भने।

नेपालगन्जबाट पनि आवश्यकता अनुसार अक्सिजन सिलिण्डर नआएकाले समस्या भएको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी श्रेष्ठले बताए। ‘अक्सिजनको धेरै समस्या भएको छ,’ उनले भने, ‘अक्सिजन नपाएर बिरामी छटपटाइरहेका छन्।’

प्रकाशित मिति: : 2021-05-07 12:59:00

प्रतिकृया दिनुहोस्