सीमा क्षेत्रमा सुरक्षा निगरानी कसिलो बनाउन मन्त्री कार्कीको निर्देशन 

प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले मङ्गलबार पूर्वीनाका काँकडभिट्टाको अनुगमन गरेका छन्।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको उच्चस्तरीय टोलीसहित मन्त्री कार्कीले काँकडभिट्टा नाकाको होल्डिङ सेन्टर र जाँचको प्रत्यक्ष निरीक्षण गरे।

निरीक्षणपछि मेची भन्सार कार्यालयमा सरोकारवाला निकायसँगको छलफलमा उनले कोभिड–१९ को दोस्रो लहर नियन्त्रणका लागि प्रदेश सरकार सम्भव सबै उपाय अवलम्बनमा कटिबद्ध रहेको बताए।

उनले भारतसँगको सीमा क्षेत्रमा सुरक्षा निगरानी कसिलो बनाउन र होल्डिङ सेन्टरलाई व्यवस्थित तुल्याउन निर्देशन दिए।

छलफलमा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिना, जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेल, मेचीनगर नगरपालिकाका उपप्रमुख मीना उप्रेती र जिल्लास्थित सुरक्षा निकायका प्रमुखको सहभागिता थियो।

मन्त्री कार्कीले सीमा नाकाको निरीक्षण गरी कोभिड–१९ नियन्त्रण अभियानमा कुनै कसुर बाँकी नराखी साधन, स्रोत र जनशक्ति परिचालन गर्न सुरक्षा अधिकारीलाई निर्देशन दिए।

प्रकाशित मिति: : 2021-05-05 08:07:00

प्रतिकृया दिनुहोस्